कलिकोटको छाप्रेमा भीषण पहिरो, दुई घर बगायो ,तीन बस्ती जोखिममा

कठमाडौं, भदौ १० । कालिकोटको तिलागुफा नगरपालिका(७ छाप्रेमा भीषण पहिरो गएको छ ।

गएराति अबिरल वर्षासँगै गाँउ माथिबाट पहिरो खसेपछि स्थानीय गाउँ छाडेर भागेका छन् । पहिरोका कारणा तिलागुफा नगरपालिकाको वडा नं। ६, ७ र ८ का तीन वटा बस्तीहरु जोखिममा परेका छन् ।

तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले पहिरोका कारण छाप्रे, डाँडको बस्ती बिस्थापित भएको जानकारी दिए ।

उनले भने, ‘पहिरो अहिले पनि बगिरहेको छ । राति गाउँमा पहिरो पस्दा भागाभाग भयो ।’ पहिरो गाउँ पसेपनि मानवीय क्षति भने नभएको शाहीले बताए । डाँढ गाउँका दुई घरमा पहिरो पसेको छ । टाकुल्लाको दुई कोठे घर पुरिएको छ ।

पहिरोले कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडकखण्ड पनि अवरुद्ध भएको छ । कर्णाली राजमार्गमा गुड्ने सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका छन् । पहिरोग्रस्त क्षेत्रमा उद्धारका लागि तीन वटै सुरक्षा निकाय खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलीयाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका डीएसपी दिलप्रसाद भट्टको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पहिरो स्थलमा खटिएको छ ।

डीएसपी श्यामबाबु ओलीयाले आफूहरुले पहिरोको जोखिममा परेका परिवारहरुको तथ्यांक संकलन, उनीहरुको बसोबासका लागि नगरपालिकासँग समन्वय गरिरहेको बताए ।

उनले भने, ‘पहिरो रोकिएको छैन् । छाप्रेका २५ घरहरु तत्काल विस्थापित हुने अवस्थामा छन् ।

जोखिममा रहेका परिवारको घरमा रहेको सामानहरु सुरक्षित ठाँउ तिर लिने कार्य भइरहेको छ ।’ यसरी पहिरोले स्थानियको बिच्चली भएको छ । बस्न, खान कहाँ जाने भन्ने उनीहरुको मनमा पिरलो परेको छ ।

प्रतिक्रिया दिनुहोस्