राष्ट्रियसभा चुनावका लागी कस्तो तालिका बनाउँदै छ त आयोग ?

काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणासँगै निर्वाचन आयोग राष्ट्रियसभा निर्वाचनको तयारीमा जुटेको छ । आयोगको सिफारिसमा सरकारले मिति घोषणा गरेपछि निर्वाचन आयोगले तत्काल कार्यतालिका सार्वजनिक गर्ने तयारीमा जुटेको हो ।

आयोगले प्रस्ताव गरेको मितिको अघिल्लो दिन माघ २४ गते चुनाव गर्ने निर्णय सरकारले गरे पनि तयारीका लागि यो समयावधि पर्याप्त हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार मतदाता नामावली र मतपत्रको नमूना तयार गर्ने, निर्वाचन अधिकृतहरुको नियुक्ति प्रकृया अघि बढाउने तथा मतदाताहरुलाई मतसंकेत गर्ने तरिका सिकाउने तयारीमा आयोग जुटेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु गरिएको भन्दै प्रवक्ता ढकालले एकदुई दिनभित्रै निर्वाचनको कार्यतालिका सार्वजनिक गरिने बताए । नयाँ संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभा निर्वाचन हुन लागेकोले उक्त निर्वाचनको मतदान तथा गणना विधिसमेत नौलो भएको आयोगले बताएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ हजार ५६ जना मतदाता हुनेछन् । सरकारले प्रदेश प्रमुख नियुक्त नगरेकाले आयोगले प्रदेश सभाका समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न बाँकी छ । सरकारले प्रदेश प्रमुखको नियुक्ति गरे लगत्तै ती प्रमुख समक्ष नतिजा सिफारिस गर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्