‘मास प्रिन्टर’ जडानको काम शुरु, छपाइमा भइरहेको ढिलाइको अन्त्य

काठमाडौं, भदौ ४ । चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ ।

गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ ।

जडानको काम सकिएपछि नै त्यसले छपाइको काम थाल्ने यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बताए ।

उनका अनुसार सो प्रिन्टरको क्षमता अहिले विभागमा रहेका प्रिन्टरहरुको भन्दा कैयौँ गुणा बढी रहेको छ । विभागमा हाल १० वटा साना क्षमताका ‘प्रिन्टर’ रहेका छन् । यिनको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको उनले बताए । ‘मास प्रिन्टर’ले एक घण्टाको अवधिमा पाँच सयदेखि छ सयसम्म कार्ड छाप्न सक्ने बताइएको छ ।

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरणमा रहेको ढिलाइ हटाउनका लागि सरकारले ‘मास प्रिन्टर’ खरीद गरेको हो । यता चालक अनुमतिपधका लागि आवेदन दिएका र सरकारलाई बुुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघ्दासमेत अझै चालक अनुमतिपत्र नपाएको सेवाग्राहीको गुनासो रहेको छ ।


सरकारले चार वर्षपहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् ।


देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाहरुको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । विभागमा रहेको मुद्रण यन्त्र (छपाइ मेशिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले बताउँदै आएको थियो ।


विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छरसात वटाले मात्रै नियमित काम गरेकाले समस्या आएको विभागका प्रवक्ता तीर्थराज खनालले बताए ।


अब चने छपाईको काममा भइरहेको ढिलाइको अन्त्य भएकोछ भने सेवाग्राहीले समयमै सेवा पाउने भएका छन् ।

गत फागुनसम्ममा विभागले देशभरका कार्यालयहरुमार्फत पाँच लाख ५७ हजार २९८ स्मार्ट चालक अनुमतिपत्र वितरण गरेको थियो ।

आव २०७४÷७५ मा दुई लाख ९८ हजार १७५ चालक अनुमतिपत्र वितरण भएको थियो ।

नयाँ संविधानअनुसार यातायातको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हो । सङ्घीय सरकारले गत मङ्सिरमा यातायात व्यवस्था कार्यालयहरु भौतिक पूर्वाधार विकास मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ ।

प्रदेश सरकार आफैँले कार्ड छाप्न शुरु नगर्दा सङ्घीय सरकारले नै यो काम गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्