प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं , भदौ ४ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री सुव्रमण्यम(एस) जयशंकरबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन्।

नेपाल(भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार काठमाडौं आएका जयशंकरले प्रधानमन्त्रीलाई भेटेर राजनीतिक भेटघाट सुरु गरेका हुन्।

भारतीय विदेशमन्त्रीको जिम्मेवारी सम्हालेपछि जयशंकरले पहिलो विदेश भ्रमण नेपालबाट थालेका हुन्।

बुधबार बिहान सबा १२ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अवतरण गरेका उनलाई परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पराराष्ट्र सचिव शंकरदास बैरागी, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी लगायत सहभागी थिए।

आयोगको बैठक बुधबार नै सुरु हुँदैछ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ ।

बैठक बुधबार र बिहीबार हुनेछ । भारतीय विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्