नेपाल एअरलाइन्सको जापान उडानको तयारी पूरा, हप्तामा ३ वटा उडान गर्ने

काठमाण्डौं, भदौ ३ । नेपाल एअरलाइन्सको जापान उडानको तयारी पुरा भएको छ । निगमले २९ अगस्ट अर्थात भदौ १२ गतेदेखि जापानको ओसाका उडानको सबै तयारी पूरा भएको जनाएको छ ।


नेपाल वायु सेवा निगमको कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर निगमका अध्यक्ष मदन खरेलले भदौ १२ देखि निगमको वाइडबडी जहाजले जापानको ओसाका उडानको सबै तयारी पूरा भएको जानकारी गराएका हुन् ।


अध्यक्ष खरेरले भने ‘हाम्रो सबै तयारी पूरा भएको छ, निगमको वाइडबडी जहाजले ओसाका उडान गर्नेछ’, ।


ओसाका व्यापारिक हिसाबले उत्कृष्ट नभए पनि छिटो अनुमति पाउने भएकाले आवेदन दिएको र अनुमति पाएको पनि निगमले जनाएको छ ।


निगमले ओसाकामा हप्ताको ३ वटा उडान गर्नेछ । पहिलो उडानका लागि १५० को हाराहारीमा टिकट बुकिङ भएको र अगस्ट, सेप्टेम्बरमा यात्रु बढाउन संघर्ष नै गर्नुपर्ने निगमले स्वीकार गरेको छ । निगमका कमर्सियल डाइरेक्टर टंक दाहालले सेप्टेम्बरपछि भने यात्रु बढ्ने दाबी गरे ।

यसैगरी निगमले आउँदो जनवरीदेखि टोक्योको नारिता विमानस्थलमा पनि उडान गर्ने गरी तयारी भैरहेको पनि जानकारी दिएको छ ।


ओसाका उडान गर्दा यात्रु नपाउने र उडान घाटामा रहने आलोचना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्