सुदूर पश्चिमेलीहरूको महान् पर्व गौरा आजदेखि सुरु, यस्ता छन् सांस्कृतिक विशेषता

काठमाडौं, भदौ ३ । सुदूर पश्चिमेलीहरूको महान् पर्व गौरा आजदेखि सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा भव्यरुपमा मनाइने गौराको पहिलो दिन मङ्गलवार बिरुडा पञ्चमी, घरघरमा बिरुडा भिजाउने गरिन्छ। गौराको पहिलो दिन गहत, गुराउस, केराउ, मास र गहुँ मिसाएर बिरुडा भिजाउने चलन छ।

केही समय पहिलेसम्म पहाडमा मात्रै मनाइने गौरा पछिल्लो समय तराईमा पनि भव्यताका साथ मनाउन थालिएको छ।

सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृतिसंग जोडिएको गौरा पर्व सुरु भएको छ । गौरा पर्व अन्तरगत आज बिरुडा पञ्चमी, घर–घरमा बिरुडा राखिएको छ ।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामापितलका भाँडाको बाहिरपट्टी पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ धोएर राख्ने चलन रहेको छ ।

गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ ।

बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाइ गौरा घरमा भित्र्याउने गरेका छन् ।

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेल्ने गर्छन् ।

अनुकूल तिथि हेरेर विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्