इरानको विषयमा रुसद्वारा अमेरिकाको आलोचना,

एजेन्सी । इरानमा जारी सरकार विरोधी प्रदर्शनका विषयमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा अमेरिकाले छलफल गर्न बाध्य पारेको भन्दै रुसले आलोचना गरेको छ ।

कुनै देशको आन्तरिक मामिलामा संयुक्त राष्ट्र संघ जस्तो निकायले चासो दिँदा संयुक्त राष्ट्र संघको उच्च निकायको विश्वसनीयता र प्रभावकारिता गुम्ने भन्दै रुसले अमेरिकाको आलोचना गरेको हो ।

संयुक्त राष्ट्र संघका लागि रुसी राजदूत वासिली नेबेन्जियाले इरानको प्रदर्शन आन्तरिक मामिला रहेको र सुरक्षा परिषद्ले हात हाल्नु आफ्नै विश्वसनीयता गुमाउनु रहेको बताए ।

यसअघि संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले प्रदर्शनको समर्थन गर्दै ‘बहादुर’ नागरिकको शक्तिशाली प्रदर्शन भन्दै प्रशंसा गरेका थिए ।

संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूतले अमेरिकाले सुरक्षा परिषद्को स्थायी सदस्यका रुपमा आफूले पाएको अधिकारको दुरुपयोग गरेको बताए ।

इरानमा भइरहेको प्रदर्शनका बारेमा छलफल गर्न अमेरिकाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको हो ।

यसमा रुसले आलोचना गरेको हो । इरानमा गएको हप्ता मूल्य वृद्धि तथा खस्किँदै गएको जीवनस्तरको विरोधमा सुरु भएको प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रुप लिएको छ ।

अमेरिकाले प्रदर्शनकारीको समर्थन तथा सरकारको विरोधमा आवाज उठाउँदै आएको छ । इरानमा भइरहेको प्रदर्शनको क्रममा अहिलेसम्म कम्तिमा २१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्