तोकिएन प्रदेश मुकाम र प्रमुख

काठमाडौं । सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ ।प्रदेश राजधानीको माग गर्दै देशका विभिन्न ठाउँमा आन्दोलन चर्किन थालेपछि सरकारले अस्थायी राजधानी तोक्ने गृहकार्य तत्काललाई थाती राखेको हो । अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख मात्र नियुक्त गर्ने तयारी गरेको छ ।

प्रदेश राजधानी माग्दै देशभर आन्दोलन चर्केको र एमाले–माओवादीले त्यस विषयमा सुझावसमेत दिन नचाहेपछि अस्थायी राजधानी नतोक्ने निष्कर्षमा सरकार पुगेको कानुनमन्त्री यज्ञबहादुर थापाले बताए ।

सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख मात्रै नियुक्त गर्ने उनले बताए ।

बाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले सरकार अस्थायी राजधानी तोकेर विवादमा पर्न नचाहेको बताए ।

‘अत्यावश्यक भएकाले सोमबार प्रदेश प्रमुख तोकिन्छ, तर अस्थायी राजधानी तोक्ने पक्षमा सरकार छैन’ उनले भने । प्रदेश प्रमुखका लागि अस्थायी कार्यालय व्यवस्थापन भने गरिने उनले बताए ।

मन्त्री विश्वकर्माका अनुसार सरकारले सातवटै प्रदेश प्रमुखहरुको अस्थायी कार्यालय काठमाडौंमै राख्ने तयारी गरेको छ ।
प्रदेश सभा सदस्यहरुले काठमाडौंमै शपथग्रहण गर्नेछन् । त्यसपछि बस्ने प्रदेश सभा आफैंले प्रदेशको राजधानी तोक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्