तीन वर्षभित्र प्रदेश २ का ४२ हजार युवाले रोजगारी पाउने सुनिश्चित

काठमाडौं, साउन ३१ । प्रदेश सरकारको समन्वयमा अगामी तीन वर्षभित्र प्रदेश २ का ४२ हजार युवाले रोजगारी पाउने सुनिश्चित भएको छ।

प्रदेश सरकार, डिफिड र सेवा प्रदायक ६ वटा संस्थाले आज एक कार्यक्रमबीच रोजगारीको अवसर सिर्जना गर्नेगरी सम्झौता गरेका हुन्।

प्रदेशमा रहेको बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्दै लैजाने प्रदेश सरकारको योजनाअनुरुप पहिलो चरणमा विभिन्न ६ वटा संस्थाले बेरोजगार युवाहरुलाई सिप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने अथवा स्वरोजगार बनाउने सम्झौता गरेका हुन्।

प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउत, सिप कार्यक्रमका टिम लिडर बलजित बोहरा र सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।


यो कार्यक्रम वैदेशिक रोजगारीमा जाने युवा तथा गरिब, दलित, महिलालाई लक्षित गरि सञ्चालन गरिने मुख्यमन्त्री लालबाबु राउतले बताए।


उनले एक वर्षको प्रयासपछि रोजगारी सिर्जनाको क्षेत्रमा प्रदेश सरकार एक कदम अगाडि बढेको उल्लेख गर्दै यस कार्यमा सघाउने डिफिडलगायत साझेदार संस्थाहरुलाई धन्यवादसमेत दिए।

प्रतिक्रिया दिनुहोस्