धादिङ बस दुर्घटना : हराएका १९ जना अझै भेटिएनन्, खोजीका लागि ४ जिल्लासँग आग्रह
काठमाडौं, साउन २८ । केहि दिन अघि मात्रै धादिङ बस दुर्घटना भयो । दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ भने अन्य १९ यात्रु हराइरहेको अनुमान गरिएको छ ।
पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा भएको बस दुर्घटनामा परी बेपत्ता यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय, धादिङले छिमेकी चार जिल्लासँग आग्रह गरेको छ । बस दुर्घटनाको ५ दिनसम्म पनि बेपत्ता यात्रु नभेटिएपछि प्रशासनले अन्य ४ जिल्लासँग सहयोग मागेको हो ।
सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नंको बस शुक्रबार दुर्घटना भएको थियो । दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ भने अन्य १९ यात्रु हराइरहेको अनुमान गरिएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले बेपत्ताको खोजीका लागि जिल्ला प्रशासन कार्यालय गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँसँग अनुरोध गरिएको बताए ।
बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्लाका प्रहरी नदी किनारमा खोजीका लागि पुगेको उनको भनाइ छ ।
वर्षाको समय ठूलो बाढी आएकाले उद्धार र खोजीकार्यमा कठिनाइ भए पनि सुरक्षा निकाय निरन्तर सक्रियताका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।
खोजीकार्य गर्न हिँडेर मात्र सम्भव नभएकाले त्रिशूली नदी किनारमा रहेका छ रिसोर्टलाई समेत सतर्क रहन र खोजीकार्यमा सघाउन जिल्ला प्रशासन कार्यालय, धादिङले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्