सामान्य प्रशासनमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

काठमाण्डौ, साउन २८ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाबीच सोमबार ‘कार्यसम्पादन सम्झौता’ गरिएको छ ।

मन्त्रालय मातहतका कार्यलय तथा स्थानीय प्रशासनलाई सबलीकरण गर्ने उद्देश्यले सम्झौता गरिएको बताइएको छ । सोमबार काठकमण्डौमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले सङ्घीय निजामति ऐन छिट्टै ल्याउने गृहकार्य भइरहेको बताउँदै त्यसले कर्मचारीलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्न सहयोग गर्ने जानकारी गराए ।

उनले भने , “प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्न सबै मन्त्रालयमा प्रभावकारी ढङ्गमा कार्यसम्पादन गर्न निर्देशन दिएका कारण उक्त सम्झौता गरिएको छ, यसले राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादनमा समीक्षा गरी वृत्तिविकासको अग्रसर प्रदान गरिने छ ।” विगतमा जे जस्तो भएको भए पनि अब राम्रो काम गर्नेलाई उचित मूल्याङ्कन गरिने बताउँदै कार्यालयको समय अवधिभित्र निजी स्वार्थका कार्य नगर्न र सेवा प्रवाहमा कर्तव्य पूरा गर्न मन्त्री पण्डितले आग्रह गरे ।


सचिव कोइरालाले मन्त्रालयबाट उपलब्ध हुने सेवा तथा स्थानीय प्रशासनलाई जनताप्रति थप उत्तरदायी बनाउन सम्झौता महत्वपूर्ण रहेको बताए । उनले स्थानीय विकासका साथै पूर्वाधार निर्माणमा स्थानीय तहका प्रत्येक पालिकालाई एकापसमा जोड्ने, सबै पालिकाका भवनको विकास एकै प्रकारले गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्