हेटौंडामा मापसे गर्ने १४५ चालकको लाइसेन्समा प्वाल

काठमाडौं, साउन २६ । ट्राफिक प्रहरीले हेटौंडामा मापसे गर्ने १सय ४५ चालकको सवारी चालक अनुमतिपत्रमा प्वाल पारिदिएको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष ०७५र७६ मा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एकसय ४५ चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा प्वाल पारेको छ । कारवाहीस्वरूप लाइसेन्स प्वालसँगै प्रतिचालक रु एक हजार जरिवानासमेत असूली गरेर सवारी चालक अनुमतिपत्र प्वाल पारेको हो ।


त्यसैगरी लाइसेन्स नभएका ५९ चालकबाट प्रतिचालक रु दुई हजारका दरले जरिवाना उठाइनुका साथै स्मार्ट लाइसेन्स भएकालाई अभिलेख बनाउन सम्बन्धित यातायात व्यवस्था विभागमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

मापसे गर्ने चालकबाट जरिवानास्वरुप गतवर्ष रु एक लाख ५६ हजार ८०० सङ्कलन भएको ट्राफिक प्रहरी काशी थापाले बताए ।

वार्षिक तथ्याङ्कको विश्वलेषण गर्दा मापसे सेवन गरी सवारी चलाउने चालकको सङ्ख्यामा पछिल्ला वर्षहमा कमी हुँदै आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले ट्राफिक प्रहरीले कडाइका साथ मापसे जाँच गरिरहेको जानकारी दिए । उनले पछिल्लो समय चालक सचेत भएकाले कारवाही सङ्ख्या घटेको जनाकारी दिए ।

सवारी नियम, २०४९ को दफा ४२ अनुसार मापसे गरेर सवारी चलाउनेलाई कारवाहीस्वरूप लाइसेन्स प्वाल पार्न सकिने व्यवस्था छ ।
पाँच पटकसम्म मापसे गरी कारवाहीमा परेर अनुमतिपत्र प्वाल भए अनुमतिपत्र नै खारेज हुने व्यवस्था छ

प्रतिक्रिया दिनुहोस्