९ लाख घुस लिँदालिँदै सडक डिभिजन प्रमुखसहित ५ जना अख्तियारको फन्दामा
काठमाडौं, साउन २४ । ९ लाख घुस लिँदालिँदै सडक डिभिजन प्रमुखसहित ५ जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इन्जिनियर हरिकुमार पोखरेलसहित पाँचजनालार्ई अख्तियार टोलीले पक्राउ गरेको हो ।
अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इन्जिनियर पवित्रमणि आचार्य, कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मालाई ९ लाख घुससहित पक्राउ गरेको हो।
डिभिजन सडक कार्यालय, पोखराअन्तर्गत कार्यान्वयन भइरहेका विभिन्न योजनाहरुको भुक्तानी तथा पेस्की निकासा गरेबापत् जिएसआर निर्माण सेवा, पोखराका प्रोपाइटर र सडक डिभिजन कार्यालयका कर्मचारीबीच घुस लेनदेन भइरहेका बेला उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
त्यस्तै घुसबापतको रकम दिएलगत्तै उक्त डिभिजन सडकको सरकारी निवासबाट फरार भएका जिएसआर निर्माण सेवाका प्रोपाइटर ऋषि गौतमलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्