नेपालगञ्जमा भीषण आगलागी, १४ वटा फर्निचर पसल जलेर ध्वस्त , करोडौंको क्षति
काठमाडौं, साउन २४ । बाँकेको नेपालगञ्जमा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
बीपी चोक नजिकै रहेका एक दर्जन फर्निचर उद्योगहरुमा बिहिबार राती आगलागी हुँदा करोडौंको क्षति भएको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ ।
राती ११ बजेबाट सुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीयवासी र ५ वटा दमकलको सहायताले बिहान ५ बजे मात्र नियन्त्रणमा आएको थियो । ६ घण्टासम्म लागेको आगोले १४ वटा पसल खरानी बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक वीरबहादुर वलीका अनुसार आगलागीबाट हिमालय स्टिल, सानिया स्टिल, स्टार स्टिल, वारसी स्टिल, बिन्देश्वरी फर्निचर, न्यू रुबी, प्रतापसिंहको फर्निचर, आलिया फर्निचर, अमन फर्निचर, ए–वान फर्निचर, वावा फर्निचर, बाबा टे«र्डस र सरदार डेण्टलमा क्षति पुगेको छ ।
अगालागीमा ३ करोड क्षतिको प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए ।
आगलागीको एक घण्टाभित्र विमानस्थलको अत्याधुनिक दमकलसहित ४ वटा दमकल पुगेका थिए तर तीव्र गतिमा फैलिएको आगोका कारण नियन्त्रणमा लिन समस्या परेको थियो ।
आगलागीमा कुनै पनि पसलको बीमा नभएको बताइएको छ । उद्योगका सञ्चालकहरुले बिमा नगरेको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्