गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्दाहेर्दै’मा तीन महिनाका लागि सर्यो
काठमाडौँ, साउन २३। पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचारविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा तीन महिनाका लागि सरेको छ ।
मुद्दाको सुनुवाइ बिहीबार सुरु भए पनि तीन महिनापछि सुनुवाइ गर्ने गरी पेशी सारिएको छ।
अब मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखेर कात्तिक १७ गते सुनुवाइ हुनेछ।
नौ वर्षपछि ४५औँपटकको पेशीमा बिहीबारदेखि मुद्दाको सुनुवाई सुरु भए पनि नियमित सुनुवाइ नगरी कात्तिक १७ गतेका लागि अर्को पेशी तोकिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।
जोशीसहित साला ताराराज पाण्डेको मुद्दा बिहीबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको छ।
पहिलो दिन मुद्दाको सुनुवाई गर्दै इजलाशले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीविरुद्ध मुद्दा चलाउने भनेर गरेको निर्णयको सक्कल फाइल फेला नपरे पनि सुनुवाइ गर्न बाधा नपर्ने ठहर गरेको छ। यसअघि मुद्दा चलाउने आयोगको सक्कल फाइल उपलब्ध नभएको भन्दै सर्वोच्चले सुनुवाइ टार्दै आएको थियो ।
गएको जेठ २३ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपनाप्रधान मल्लको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जोशीविरुद्ध मुद्दा चलाउने निर्णयको सक्कल फाइल उपलब्ध गराउन आदेश दिएको थियो ।
आदेशअनुसार आयोगका सचिव महेश्वर दाहालले असार ४ गते आफैँ उपस्थित भएर सक्कल फाइल फेला नपरेको जवाफ दिएका थिए। बिहीबार खतिवडा र ढुंगानाको इजलाशले फाइल पेश नगरेसम्म आयोगका सचिवलाई तारिखमा राख्न दिएको आदेशलाई बदर गरेको छ।
सर्वोच्चले सक्कल फाइल उपलब्ध नगराए अवहेलना मुद्दामा कारबाही गर्ने चेतावनी दिएको थियो । आयोगले जोशीविरुद्ध २०६० माघ २८ गते विशेष अदालतमा ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा १३ वर्ष कैद सजाय र जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो ।
तत्कालीन विशेष अदालतका न्यायाधीशहरू भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले २०६३ कात्तिक ३० गते अख्तियारले म्याद गुजारेर दर्ता गरेको भन्दै मुद्दाको विषयवस्तुमा प्रवेश नै नगरी सफाइ दिएको थियो।
विशेष अदालतको आदेशविरुद्ध अख्तियारले सर्वोच्चमा रिट हाल्यो । भ्रष्टाचार मुद्दामा हदम्याद नलाग्ने आदेश सर्वोच्चको आदेशपछि विशेष आदालतमा जोशीविरुद्ध मुद्दा चल्यो ।
विशेष अदालतले २०६६ साउन १० मा विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले जोशीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।
विशेषले जोशीसँग २ करोड १६ लाख मात्रै स्रोत नपुगेको भन्दै बिगोसहित असुल गर्न र १ वर्ष ६ महिना मात्र कैद सजाय सुनायो । विशेष अदालतको उक्त फैसलाविरुद्ध जोशी सर्वोच्च गए पनि अहिलेसम्म मुद्दाको सुनुवाई हुन सकेको थिएन।
प्रतिक्रिया दिनुहोस्