प्रतिनिधिसभा संसदको शून्य समयः कसले के भने ?


काठमाडौं, साउन २३ । प्रतिनिधिसभाको आजको सुन्य समयमा सांसदहरुले आ आफ्ना धारणा राखेका छन् ।

शून्य समयमा बोल्दै सांसदहरुले बैठक कक्षको एअर कण्डिसन बिग्रिएकोदेखि शून्य र विशेष समयमा उठेका विषयमा सरकार र सम्बन्धित मन्त्रीबाट सम्बोधन हुन नसकेको भन्दै सम्बन्धित निकायलाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराएका छन् ।


प्रतिनिधिसभाको बिहिबारको बैठकको शून्य समयमा बोल्दै सांसद सितादेवी यादवले बाढी प्रभावितका लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्दै अबिलम्ब राहतको व्यवस्था गर्न माग गरे । शान्ति प्रक्रियाका १४ बर्ष पुगिसक्दा पनि पीडितहरुले न्याय र परिपुरण नपाएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए ।


सांसद सुजता परियारले प्रतिनिधिसभा बैठक कक्षको एअर कण्डिसन बिग्रिएकोतर्फ सभामुखको ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायलाई तत्काल निर्देशन गर्न माग गरिन् । उनले भनिन्, ‘सुनिन्छ एसिमा पानी छैन । पानी सकिएर एसि नचलेको । सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो कि ? पानी पेट्रोलभन्दा महँगो भएको हो ? तीन तीन दिनसम्म पनि एसि बनाउन नसक्नु सरासर लापरवाही हो । त्यसैले सभामुखमार्फत तत्काल सम्बन्धित निकायलाई निर्देशन होस भनि अनुरोध गर्न चाहन्छु ।’


सांसद सुदन किराँतीले सबैतर्फ वेथितिहरु देखा परेको भन्दै ‘वेथितिले सिमा नाघ्यो । सहने शक्ति कहाँबाट आर्जन गरुँ ?’ भनी प्रश्न गरे । स्थानीय तहमा कर्मचारी अभावले बजेट खर्च हुन नसकेको भन्दै तत्काल आवश्यक कर्मचारी पठाउने व्यवस्था गर्न सरकारसँग माग समेत गरे ।

उनले भने, ‘आज ११ बजेर ३० मिनेट जादा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेको थिएँ । कर्मचारीहरुले मन्त्रालय पस्ने बाटो अवरुद्ध गरेर पस्न दिइएन । किनभने उपमहानगरपालिका र नगरपालिकाले उनीहरुलाई हाजिर गराउनुभएको रहेनछ ।


दुरदराजका वडाहरुमा कर्मचारीको अभावमा ६ वटा वडा एउटै सचिवले चलाउनुपरिरहेको र कर्मचारीको अभावमा जनताको नाममा गएको बजेट फ्रिज भएको छ । काठमाण्डौ भन्दा १० गुणा ठुलो एउटा वडा पहाडमा छ । जहाँ यातायात छैन र टेलिफोन सम्पर्क पनि समयमा हुन सक्दैन ।


जनताले तिरेको करबाट तलब खाने नेपाल सरकारको कर्मचारीलाई देशको कुना कन्दरामा छिटो पठाउनुपर्यो । होइन भने जागिरबाट २४ घण्टा भित्र बरखास्त गरेर हजारौ बेरोजगार युवाहरुलाई करारमा भर्ना गरेर देशलाई अगाडि बढाउनुपर्यो ।’


सांसद सुरेशचन्द्र दासले प्रतिनिधिसभाको बैठकको शून्य समय र विशेष समयमा उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीले दिनका लागि रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए । सांसद स्मृतिनारायण चौधरीले बाढी पहिरो र डुबानका कारण सबैभन्दा प्रदेश नम्बर २ प्रभावित भएको भन्दै प्रभावितलाई उपयुक्त किसिमको राहत उपलब्ध गराउन सरकारसँग माग गरे ।


सांसद ज्ञानकुमारी छन्त्यालले साउन १८ गते रातीदेखि मध्यपहाडी लोकमार्गको झण्डै २ सय मिटर सडक भत्किएका कारण सवारी साधन सञ्चालनमा समस्या देखिएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘सरकारले केही बनाउने सुर सार गरेका छैनन् ।


त्यहाका जनताले, सयौं जनाले राती सुत्न पनि दिएका छैनन् । बस्न पनि दिएका छैनन् । खान पनि दिएका छैनन् । फोन गरेर मलाई असाध्यै चाही मासु तितो बनाएका छन् सभामुख महोदय । सो सडकखण्ड छिटोभन्दा छिटो बनाओस् भनी म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्