सरकारविरुद्ध वाम युवा-विद्यार्थीको आन्दोलन जारी, आज सडक बहस

काठमाडौं । सरकार, निर्वाचन आयोग र नेपाल आयल निगमविरुद्ध आन्दोलन गर्दै आएका वाम गठबन्धनका युवा तथा विद्यार्थीहरुले शुक्रबार सडक बहस कार्यक्रम गर्दैछन् ।

दिउँसो दुई बजे नयाँबानेश्वरमा युवा नेता तथा वकिलहरुको सहभागीतामा सडक बहस गर्न लागिएको हो ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘जनादेशविहीन कामचलाउ सरकार, अकमण्य निर्वाचन आयोग र युवा-विद्यार्थी सरोकार विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका छौं ।’

कार्यक्रममा युवा तथा विद्यार्थी नेताहरुका साथै, रामनारायण बिडारी, युवराज संग्रौला, मणि थापा, लेखनाथ न्यौपानेलगायतका नेताहरुलाई पनि बोलाइएको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने, निर्वाचन परिणाम छिटो सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै एमाले निकट युवा संघ र अनेरास्ववियु तथा माओवादी केन्द्र निकट वाईसीएल र अखिल क्रान्तिकारीले सरकारविरुद्ध संयुक्तरुपमा दवावमुलक कार्यक्रम गर्दै आएका छन् ।

उनीहरुले बिहीबार आयल निगममा ज्ञापनपत्र बुझाउनुका साथै बुधबार प्रदशनीमार्गदेखि शान्तिवाटीकासम्म विरोध प्रदर्शन पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्