राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक आज
काठमाडौं ।राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक आज बस्ने भएको छ । इन्धन भण्डारण गृह निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता भएपछि प्रभावित भएको जग्गा खरिद प्रक्रियाका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
आज बस्ने समितिको बैठकको निर्णयपछि मात्रै नेपाल आयल निगमले जग्गा खरिद प्रक्रिया अगाडि बढाउने छ । इन्धन भण्डारण गृहको कार्य जग्गा खरिद प्रक्रियामा देखिएको अन्योलले प्रभावित भएकापछि आजको बैठकमा छलफल गरेर मात्रै बाँकी कार्य अघि बढाइने आपूर्ति मन्त्रालयका सचिव अनिलकुमार ठाकुरले बताए ।
नेपाल आयल निगमले ९० दिनका लागि पुग्ने गरी निर्माण गर्न लागेको भण्डारण गृह निर्माण कार्य पछिल्लो समय पूर्ण रुपले प्रभावित भएको छ । यस्तै आजको बैठकमा वाणिज्य मन्त्रालयले मुख्य समस्याका रुपमा ‘अन्तरमन्त्रायल समन्वयको अभाव’लाई अघि सारेको छ । वाणिज्य मन्त्रालयले अन्तरमन्त्रालय समन्वयको अभावका कारण व्यापार घाटा निरन्तर चुलिदै गइरहेकाले मन्त्रालयको मुख्य समस्याका रुपमा अन्तरमन्त्रालय समन्वयलाई अघि सारेको हो ।
बैठकमा विकासका काममा सरकारले भोग्दै आएका समस्याका बारेमा छलफल हुनेछ । समितिमा संघिय मामिला तथा स्थानीय विकास, शिक्षा, स्वास्थ्य, महिला वालवालीका तथा समाजकल्याण, गरिवी निवारण, भौतिक पूर्वाधार खानेपानी तथा सरसफाइ र सिंचाइ मन्त्रालय प्रतिनिधि रहेका छन ।
बैठकमा प्रत्येक मन्त्रालयले विकाससम्बन्धी आ–आफ्ना समस्या राख्ने र समस्या समाधानका लागि छलफल गर्ने गरिन्छ । समितिको बैठक प्रतेक चार महिनामा बस्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्