नक्कली नोटसहित एक जना प्रहरीद्वारा पक्राउ , पछिल्लो समय नक्कली नोटको बिगबिगी बढ्दै
काठमाडौं, साउन १७ । जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरीलाई प्रहरीले नक्कली नोट सहितपक्राउ गरेको हो ।
एक हजारका १७ नक्कली नोट दिएर पाँच सय दरका नोट साट्न लागेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढी उप–महानगरपालिकाको वडा नम्बर १ मा रहेको सेती अस्पतालको फार्मेसीमा उनले नोट साट्न लागेको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरेको थियो।
हुलियाको आधारमा चौधरीलाई प्रहरीले उप–महानगरपालिकाकै वडा नम्बर १ बाट पक्राउ गरेको हो । चौधरीको साथबाट एक हजारका थप ४ वटासहित २१ वटा नक्कलीनोट बरामदगरिएको प्रहरीले जनाएको छ ।
खोटा चलन शीर्षकमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसैबीच पछिल्लो समय कैलालीमा नक्कली नोटको बिगबिगी बढेको छ ।
एकपछि अर्काे गर्दै धनगढीमा नक्कली नोट फोला पर्न थालेपछि प्रहरीलाई चुनौती थपिएको छ ।
केही समय अलिक कम देखिएको नक्कली नोटहरु फेरि विभिन्न स्थानमा देखिन थालेका हुन् । नक्कली नोटको कारोबार गर्नका लागि गिरोह नै सक्रिय भएको प्रहरीले जनाएको छ । केही दिन अगाडि पनि धनगढीको पिपलचौतारामा रहेको तरकारी पसलमा नक्कली नोट फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्