एक सातायता निस्कृय रहेको मनसुन पुनः सक्रिय , मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं, साउन १७ । एक सातायता निस्कृय रहेको मनसुन अब सक्रिय हुने भएको छ । मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा (मनसुन ट्रफ) भारतको उत्तरी भू–भागतर्फ सर्ने क्रम शुरु भएसँगै नेपालमा वर्षाको प्रभाव दोहोरिने भएको हो ।

मनसुन ट्रफ सामान्य रेखा नजिक सर्न थालेको र केही दिनभित्रमा नेपाल नजिक आउने भएकाले निस्कृय मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए ।

‘तत्काल निरन्तर र भारी वर्षाको संभावना नरहे पनि धेरै ठाउँमा मध्यमस्तरको वर्षा हुने गतिविधि विकास भइरहेको छ’–उनले भने ।

न्यूनचापीय रेखा भारतको गंगानगर, अलाहवाद, कलकत्ता, बंगालको खाडीको शिर आसपासको भेगमा सरेको अवस्थालाई मौसमविद्हरु सामान्य अवस्थाका रुपमा बुझ्ने गर्छन् ।

काल्पनिक यस्तो रेखा ती क्षेत्रबाट भारतको उत्तरी दिशातर्फ सरेपछि नेपाली भू–भागमा मनसुनी प्रभाव पर्ने गर्छ भने ‘इन्डोग्याङगेटिक प्लेन’ भन्दा तल सरेको अवस्थामा मनसुन निस्कृय हुने गर्छ । मनसुनी रेखा नेपाल नजिक सरेपछि नेपालमा भारी वर्षा हुने गरेको प्रधानाङ्गले प्रष्ट्याए ।

यसैबिच मुलुकभर शुक्रबारको मौसम बदली भएर केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिण तिर अवस्थित रहेको र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै आएकोले बदली भएको महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार अहिले देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था रहेको छ ।

देशभर दिउँसो भने आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन चट्याङ्सहित हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्