शिक्षामन्त्री पोखरेल भन्छन् -ग्रेडिङ प्रणालीको नतिजा राम्रो आउन अझै १० वर्ष लाग्छ

काठमाडौँ , साउन १४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ग्रेडिङ प्रणालीको नतिजा राम्रो आउनका लागि अझै १० वर्ष लाग्ने बताएका छन् ।

उनले राम्र्रो र गुणस्तरीय नतिजा आउन केहि समय पर्खन पर्ने बताए । नेपाल पत्रकार महासंघले मंगलबार आयोजना गरेको शिक्षा पत्रकारिता पुरस्कार २०७५ मा बोल्दै मन्त्री पोखरेलले नयाँ प्रणाली लागू भएको २–३ वर्षमै नतिजा राम्रो आइ नहाल्ने बताए ।

२–३ वर्षदेखि ११–१२ को नतिजा हेरेर शिक्षा प्रणालीको आलोचना गरिरहनु भएको छ । यो त १० वर्ष अघिको साथीहरूको मिहिनेत हो, उनले भने, अहिलेको प्रणालीको नतिजा आउन १० वर्ष लाग्छ । सामुदायिक विद्यालयको नतिजा माथि देखाउन ग्रेडिङ प्रणाली लागू नगरेको समेत उनले बताए ।

शिक्षा मन्त्रालयले १८ वर्षअघि अनुसन्धान गरेर तयार पारेको रिपोर्टले शिक्षामा ग्रेडिङ प्रणाली आवश्यक रहेको उल्लेख छ उनले भने, त्यो रिपोर्टलाई आत्मसाथ गर्दै शिक्षा प्रणाली सुधारमा जरूरी छ भनेर नै ल्याइएको हो ।

शिक्षामा उत्तरदायी प्रणाली निर्माण गर्नुपर्ने बताउँदै मन्त्री पोखरेलले अनिमात्रै शिक्षा क्षेत्र हेर्न लायक हुने उल्लेख गरे । शिक्षा जनशक्ति उत्पादन गर्ने क्षेत्र भएका कारण यसमा अझ ठूलो बहस आवश्यक भएको समेत उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्