लमजुङको च्याम्चेमा जीप दुर्घटना, अवस्था यस्तो छ
काठमाडौं, साउन ९ । लमजुङमा जीप दुर्घटना भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चेमा जीप दुर्घटना भएको हो ।
ग १ ज ६७८६ नम्बरको जीप सडकबाट भण्डै २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी प्रमुख रवीन्द्रमान गुरुङले जानकारी दिए ।
‘सडकबाट खसेर जीप मर्स्याङ्दी नदी किनारामा पुगेको खबर पाएका छौँ’, उनले भने । जीपमा कति यात्रु थिए र कति क्षति भयो भन्ने केही जानकारी नआएको डीएसपी गुरुङले बताए ।
लमजुङ र मनाङको सीमाना म्यार्दीखोलाबाट जगत आउँदै गरेको जीप बुधबार राति मर्स्याङ्दी नदीमा खसेको स्थानीयले बताएका छन् ।
जिप्रका लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेका अनुसार घटनास्थलमा बाहुनडाँडा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली पुगिसकेको छ । जिप्रकाबाट प्रहरी टोली जाँदै गरेको छ ।
प्रतिक्रिया दिनुहोस्