बाढीपहिरो र डुबान नियन्त्रणका लागि पूर्वतयारी गर्न सांसदको माग, देउवाले भने – स्थायी समाधानका लागि भारतसँग कुरा गर्नुपछ

काठमाडौँ, साउन ८ । पूर्वतयारी नगर्दा बाढीपहिरोले धेरै क्षति भएको बताउँदै सांसदहरुले व्यवस्थित रुपमा पूर्वसूचना प्रणाली विकास गरी क्षति कम गरिनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुले विकास निर्माणका काम प्राविधिक अध्ययन बिना गर्ने गरिएकाले पनि बाढीपहिरोले बढी क्षति हुने गरेको बताएका हुन् ।

सांसद दिलकुमारी रावल थापा (पार्वती)ले असार २६ गतेपछिको अविरल वर्षाले आएको बाढीपहिरोले धेरै जनधनको क्षति भएको उल्लेख गर्दै पहिले नै तयारी नगर्दा क्षति कम गर्न नसकिएको बताइन् ।

पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाई नागरिकलाई पनि सचेत र जागरुक बनाइनुपर्ने उनको माग थियो ।

सांसद कोमल वलीले गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोका कारण केही घरका मानिस अझै विद्यालयमा आश्रय लिइरहेकाले उनीहरुको उचित व्यवस्था गर्न सरकारसँग माग गरिन् । मृतकका परिवारलाई राहत र घर बगाएकालाई आश्रयको व्यवस्था गरिनुपर्ने सांसद वलीको माग थियो ।

बिना योजना उपभोक्ता समितिमार्फत काम भइरहेको, उपभोक्ता समितिमार्फत काम गर्दा यन्त्रको प्रयोग गर्न नपाउने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको उनले बताइन् ।

जलवायु परिवर्तनले जुनसुकै बेला हिमताल फुट्नसक्ने भएकाले पूर्वतयारी गर्न पनि सांसद वलीले माग गरिन् । भूकम्प, बाढी, पहिरो, आगलागी जस्ता प्रकोपको पूर्वतयारी सरोकार भएका निकायले गर्नुपर्ने पनि उनको माग छ ।

सांसद जीतेन्द्रनारायण देवले बाढी पहिरो प्रत्येक वर्ष नियमित आकस्मिक जस्तै हुने गरेकाले सरकारले रचनात्मक छलफलको विषय बनाई एउटा सहमतिमा पुग्नुपर्ने बताए ।

सांसद सुमनराज प्याकुरेलले बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपका कारण खाद्यान्न अभाव हुनसक्ने देखिएकाले राहतका प्याकेजको व्यवस्था गर्नुपर्ने बताए । चुरेको दोहन, चुरे क्षेत्रमा हुने काममा धेरै भ्रष्टाचारलगायतका कारणले बाढी र डुबानको समस्या तराई मधेशमा हुने गरेको उनले बताए ।

बाढी र डुबान भएको क्षेत्रमा सर्प र कीराको समस्या बढेकाले आउनसक्ने समस्याका बारेमा समयमै सचेत हुन उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद मुक्ताकुमारी यादवले कमला बचाउ अभियान युवाले शुरु गरेको उल्लेख गर्दै चुरे दोहन रोकी बचाउ अभियान शुरु गरे बाढी, पहिरो र डुबानबाट हुने समस्या समाधान गर्न सकिने बताइन् ।

सांसद मीना बुढाले बाढीपहिरोलगायत समस्या आउनुपूर्व नै पूर्वतयारी, सूचना दिने व्यवस्थित प्रणालीको विकास गरे कम क्षति हुनेतर्फ सरकारको ध्यानाकर्षण गराइन्
यसैबचि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बाढी र डुवान समस्याको स्थायी समाधानका लागि सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।
बाढी र डुवानका बेला एकले अर्कालाई दोष दिएर मात्र समस्या समाधान नहुने भन्दै उनले डुवान र बाढीको समस्या अन्त्य गर्न भारतसँग कुटनीतिक स्तरमा संवाद गरेर स्थायी समाधान खोज्नुपर्ने बताएका हुन् । संसदमा बाढी पहिरोबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै उनले भारतको पनि केही समस्या भए नेपालले समाधान गर्नुपर्ने बताए ।
‘नेपालले भारतलाई भारतले नेपाललाई दोष दिएर कति दिन चल्छ ?’ देउवाले प्रश्न गरे , ‘कुटनीतिक तरिकाले कुरा गरेर सदाका लागि समस्या समाधान गर्नुपर्छ । एकले अर्कोलाई गाली गरेर हुँदैन ।’
बाढी र डुवान प्रभावित धेरै जिल्ला आफूले भ्रमण गरेको भन्दै देउवाले डुवान प्रभावित कतिपय क्षेत्रमा स्थानीय सरकारसमेत पुग्न नसकेको आरोप लगाए । ‘घरविहीन भएकालाई खाद्यान्न लत्ताकपडा दिने र ओत दिने काम सरकारको हो,’ उनले भने, ‘तर केही गरेको छैन । बरु विदेशी एनजिओले गरेका छन् ।’
सरकार भनेको दुःख परेको बेला चाहिने भन्दै देउवाले यस्तो भयावह स्थितिमा सरकारले ध्यान नदिएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्