ढुवानी व्यवसायी र सरकारबीच तीन बुँदे सहमति , आन्दोलन फिर्ता

काठमाडौं , साउन ७ । ढुवानी व्यवसायी र सरकारबीच तीन बुँदे सहमति भएको छन। सहमति भएपछि एक सातादेखि ठप्प रहेको ढुवानी सेवा सञ्चालन भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र व्यवसायीबीच भएको छलफलमा सहमतिजुटेको नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

सोमबार भएको छलफलमा ढुवानीका साधनलाई पूर्ववतरुपमै रुट परमिट दिन केन्द्र सरकारले सहजीकरण गर्ने, भीसीटिएस (भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिष्टम) पालना नगर्ने ट्रक तथा चालकमाथि तत्काल जरिवाना नलाग्ने र ढुवानी तथा यातायातका क्षेत्रका देखिएको समस्या समाधानको सुझाव दिन कार्यदल बनाउने सहमति भएपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् ।

सहमतिअनुसार रुट परमिटको अभावमा रोकिएका ढुवानीका साधनलाई यातायात व्यवस्था विभागले परमिट दिने व्यवस्था मिलाउने छ ।

ढुवानी साधनमा साउन १ गतेदेखि लागू हुने भनिएको मूल्य अभिवृद्धि कर (भ्याट) अर्थ मन्त्रालयसंगको छलफलपछि गठित समितिले प्रतिवेदन नबुझाउँदासम्म कार्यन्वयन नगर्ने सहमति यसअघि नै बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्