गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो, ३ अझै बेपत्ता

काठमाडौं, साउन ७ । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

सत्यवती गाउँपालिका वडा नं. ३ को ठूलोलुम्पेक र वडा नम्बर ४ को लिम्घामा पहिरोले च्यापेर १० जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । अरु ३ जना पहिरोमा पुरिएको आशंका छ ।

वडा नम्बर ४ स्थित भिरकुनामा ८ जनाको र वडा नम्बर ३ को ठुलोलुम्पेकमा २ जनाको मृत्यु भएको हो । वडा नम्बर ४ का १ जना र ३ का २ जना बेपत्ता भएका छन् । उनीहरु पहिरोमा पुरिएको आशंका गरिएको छ ।

वडा नम्बर ४ का वडाध्यक्ष दानबहादुर रानाका अनुसार लिम्घा भिरकुनाका ३ वटा घर पहिरोमा पुरिँदा नखुलेका एक वर्षीय बालक, ५ वर्षका हिमांशु बिक, ९ वर्षीया सिवानी बिक, ९ वर्षकै तारा बिक र नाम ३२ वर्षीया निर्मला बिक, २९ वर्षीया पम्फा बिक, १२ वर्षीया अञ्जली बिक, ७० वर्षीय छली बिकको मृत्यु भएको छ ।

२ सय मिटरमाथिबाट सोमबार राती आएको पहिरोले ढालबहादुर बिक, छलि बिक र पम्फा बिकको घर पुरेको हो ।

यस्तै वडा नम्बर ३ को ठुलो लुम्पेकमा पहिरोले च्यापेर ३० वर्षीया तिलकुमारी तरामु मगर र उनका १० वर्षीय दर्शन तरामु मगरको मृत्यु भएको वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिए । पहिरोले च्यापेर १० वर्षीया करिष्मा तरामु मगर र १३ वर्षीया धनी तरामु मगर घाइते भएका छन् ।

सोही ठाउँमा अरु ३ जना बेपत्ता भएका छन् । पहिरोले च्यापेर घाइते भएकाहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । पहिरोले पुरेर पशु चौपाया समेत मरेका छन् ।

उद्धारका लागि सुरक्षाकर्मीहरु र स्थानीय खटिएका छन् । उनीहरुले बेपत्ता भएकाहरुको खोजी गरिरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

यसैबिच अविरल वर्षाका कारण रुपन्देहीको तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

नेपाल बाढी मापन सूचना केन्द्रका अनुसार तिनाउ नदीको माथिल्लो तटीय क्षेत्रमा जलसतहले खतराको तह पार गरेको हो । केन्द्रले जलसतह बढ्दो क्रममा रहेको भन्दै सुरक्षित रहन सो क्षेत्रका बासिन्दालाई मोबाइलमा म्यासेज पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्