प्रिमियरको एफपीओमा आवेदन गर्ने आज अन्तिम दिन

काठमाडौं । प्रिमियर ईन्स्योरेन्सले निष्कासन गरेको साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही पुष १६ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता बिक्रीमा ल्याएको हो।

इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीको एफपीओमा पुस १९ गतेसम्म आवेदन गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम दश किता अर्थात ७ हजार ९९० रुपैयाँदेखि अधिकत्म ३ हजार २९० किता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन पाउनेछन् ।

अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । एफपीओ बिक्रीपछी इन्स्योरेन्सको चुक्ता पूँजी ६ करोड ५९ लाख ५६ हजार रुपैयाँले बढ्नेछ । त्यस्तै उसको जगेडाकोषमा ४६ करोड १० लाख रुपैयाँ जम्मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्