मकवानपुरबाट कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ, दुई किलो सुनसहित नागढुंगाबाट एक जना समातिए
काठमाडौं, साउन ५ । कटुवा पेस्तोल र गोलीसहित प्रहरीले मकवानपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका-१, ढुङ्गेनका कुमार स्याङतान कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका हुन् ।
उनलाई पेस्तोल, पेस्तोलमा लाग्ने गोलीको खोका, जंगी गोली ५ राउण्ड र ३५ किलो गाँजासहित मनहरी गाउँपालिका ९ रजैया राप्ती खोलाबाट आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाँजा लैजाँदै गरेको समूहका ४-५ जनामध्ये स्याङतानले प्रहरीलाई गोली हानेको र प्रहरीले समेत जवाफी कारबाही गरी स्याङतानलाई पक्राउ गरेको जनाइएको छ । फरार रहेका अन्य व्यक्तिको खोजी भैरहेको पनि प्रहरीले जनाएको छ ।
कम्मरमा बाँधेर सुन तस्करी
काठमाडौं, साउन ५ । लुकाइछिपाइ ल्याएको दुई किलो सुनसहित एक व्यक्ति नागढुंगाबाट पक्राउ परेका छन्।
रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५ का १७ वर्षीय भीमबहादुर तामाङलाई अवैधरूपमा ल्याएको सुनसहित शनिबार राति साढे ९ बजे पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोट प्रमुख कुमारविक्रम थापाले जानकारी दिए।
तामाङ सुन बोकेर भैरहवाबाट काठमाडौं आउने यात्रुवाहक बसमा आइरहेको थिए। गोप्य सूचनाका आधारमा उनलाई चेकजाँच गर्दा सुन फेला परेको थापाकोे भनाइ छ।
‘मादल आकारको सुन कम्मरमा बाँधेर ल्याएको पाइयो,’ उनले भने, ‘परीक्षण गराउँदा सुन भएको पत्ता लाग्यो।’ तामाङ रसुवाबाट गल्छीसम्म आएका थिए। गल्छीबाट उनी गाडी चढेका हुन्। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्