दीपायललाई प्रदेश राजधानी तोक्न माग गर्दै डोटीमा अनिश्चितकालीन बन्द, जनजिवन प्रभावित

काठमाठौं ।दीपायललाई प्रदेश राजधानी तोक्न माग गर्दै डोटीमा अनिश्चितकालीन बन्द गरिएको छ । प्रदेश ७ को अस्थायी मुकाम धनगढी बनाउने प्रस्ताव सरकारले गरेसँगै डोटीबासीले बन्दलगायत संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सरकारले अस्थायी प्रदेश राजधानी औपचारिक रुपमा नतोके पनि यसको प्रस्ताव मंगलबार गरेको थियो । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी तोक्ने छ ।
बुधबार बिहान बसेको प्रदेश नं। ७ को राजधानी दिपायल संघर्ष समिति बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हो । बन्द आह्वान गरेसँगै दिपायल, पिपल्लालगायतका मुख्य बजारहरु बिहानैदेखि बन्द भएका छन । सरकारी कार्यालय, बजार, गैरसरकारी संस्था, शिक्षण संस्थाहरु समेत बन्दले प्रभावित भएका छन् ।
एम्वुलेन्स, दमकल, प्रेस, शव वहान, निलो प्लेटका अत्यावश्कीय सवारी साधन चल्न दिने निर्णय भएकाले निर्वाध चलिरहेका छन् ।
संघर्ष समितिका सदस्य दीपकबहादुर खड्काले पहाडको अधिकार खोस्ने गरी प्रदेश ७ को अस्थायी मुकाम तोक्न लागिएकाले संघर्षमा उत्रिएको बताए ।
उनले भौतिक पूर्वाधारदेखि भौगोलिक दूरीका हिसाबले पनि दीपायल प्रदेश राजधानीका लागि उपयुक्त भएको तर्क गर्दै माग पूरा नभएसम्म अनिश्चितकालीन डोटी बन्द गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्