परीक्षा भोलि, लोकसेवा विज्ञापन खारेजीको माग गर्दै कार्यालय घेराउ, प्रहरीको लाठी चार्ज , पाँच घाइते

काठमाडौँ , साउन २ । लोकसेवाको असंवैधानिक विज्ञापन खारेजीको माग गर्दै आरक्षण बचाउ अभियानले लोक सेवा आयोगको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

लोक सेवा आयोगको विज्ञापन खारेज गर्नुपर्ने, समानुपातिक र समावेशी बनाउनुपर्ने, संसदीय सर्वोच्चता कायम गर्नुपर्ने लगायतका माग राखेर अभियानले आयोगको केन्द्रीय कार्यालय घेराउ गरेको हो।

शुक्रबारबाट सुरु हुने लोक सेवाको परीक्षाको एकदिन अगाडि लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा आदिबासी, जनजाति, मुस्लिम, महिला, अल्पसंख्यक, मधेशी तथा अन्य विभिन्न क्षेत्रका प्रतिनिधिहरु सहभागी थिए ।

‘लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका सर्वसाधारण र अभियन्तामाथि प्रहरीले ज्यादती गरेको छ । प्रहरीले लाठी चार्ज गर्दा ५ जना घाइते भएका छन् । जसमध्य एक जना बेहोस भएपछि अस्पताल पठाइएको छ ।

बिहीबार बिहानै आयोगको कार्यालय घेराउ गर्न पुगेका विभिन्न क्षेत्र र समुदायका युवाहरुमाथि प्रहरीले दमन गरेको हो । प्रदर्शनकारीहरुलाई प्रहरीले बलपूर्वक मुलगेटबाट हटाएको थियो । त्यसपछि आयोगको कार्यालय अगाडिको सडकमा उनीहरुले प्रदर्शन गरेका थिए ।

लोक सेवाको खुला विज्ञापनसँगै आदिवासी जनजाति महासंघलगायतका विभिन्न संघ–संगठनहरू रुष्ट छन् ।

अहिलेको विज्ञापन खारेज गर्दै समावेशी, समानुपातिक सिद्धान्तका आधारमा पुनः विज्ञापन गर्नुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्