६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न कांग्रेसको माग
काठमाण्डौ , साउन १ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले ६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले ५८ वर्षमा पेन्सन पाउने सरकारको प्रस्ताव आफ्नो पार्टीले स्वीकार गर्न नसक्ने पनि स्पष्ट पारे ।
समितिका सदस्यसमेत रहनु भएका नेता बडुले राष्ट्रको व्ययभारलाई कम गर्न पनि निजामती कर्मचारीहरुको पेन्सन पाउने उमेर हद ६० वर्ष तोक्नुपर्ने तर्क पनि गरे ।
बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले निजामती कर्मचारीको पेन्सन वृद्धि गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराए ।
उनले काम नबढाउने तर सेवा र सुविधामात्रै कर्मचारीहरुलाई थप गरेर राष्ट्रको व्ययभार बढाउने पक्षमा आफू नरहेको पनि बताए ।
विधेयकमा कर्मचारीको पेन्सन उसले पाएको तलवको ७५ प्रतिशत उपलब्ध गराउने प्रस्ताव गरिएको छ । त्यसप्रति नेता शर्माको ले भने आपत्ति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्