किन जनाए भिसिटिएस प्रणालीप्रति उद्योगीहरुले असन्तुष्टि ?

काठमाडौं, साउन १ । भिसिटिएस प्रणालीप्रति उद्योगीहरुले असन्तुष्टि जनाएका छन् । सरकारले आवश्यक पूर्वाधारको विकास नगरी ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ को शुभारम्भ गरेको भन्दै उद्योगीरव्यवसायीहरुले भने असन्तुष्टि जनाएका हुन् ।

सामान्य जानकारी र प्रविधि प्रयोगका लागि आवश्यक पूर्वाधारको समेत व्यवस्था नगरी सरकारले सो प्रणाली लागू गरेकोमा उद्योगी, व्यवसायीहरुको असन्तुष्टि छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सरकारले सामान्य जानकारी र पूर्वाधारको आवश्यक तयारी नगरी उद्योगी, व्यवसायमाथि नै अल्झन आउने गरी हतारमा भिसीटिएस प्रणालीको शुभारम्भ गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।


बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको सो सेवा शुभारम्भ कार्यक्रममा सहभागी भएका नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले स्थानीय ढुवानीकर्ताहरुलाई मारमा पार्नेगरी सो प्रणाली लागू गरिएको भन्दै असन्तुष्टि जनाए ।

उनले अर्थमन्त्री डा.युवराज खतिवडालाई सो सेवा ३ महिनासम्म परीक्षण कालको रुपमा सञ्चालन गर्न पनि माग गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले सो प्रणालीबाट मुलुकको आपूर्ति व्यवस्थामा समस्या नआउने व्यवस्था सुनिश्चित गर्न सरकारलाई सचेत गराए । उनले स्थानीय ढुवानीकर्तालाई समेत भ्याट लगाउने गरी आएको सो प्रणालीले मुलुकको आपूर्ति व्यवस्थालाई ठप्प बनाउने तर्क पनि गरे ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पनि व्यवसायीहरुलाई पर्याप्त जानकारी दिएर मात्रै सो प्रणाली देशभर लागू गराउन सरकारसँग आग्रह गरे ।

उनले स्थानीय तहमा सरकारले ल्याएको सो व्यवस्थाका कारण व्यवहारिक कठिनाई देखिने भएकाले सो समस्या समाधानका लागि गम्भिर हुन पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्