पर्यटन विभागद्वारा काठमाडौंका ४ क्यासिनोमा अनुगमन
काठमाडौं, असार ३१ । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन सुरु गरेको छ।
नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ।
पहिलो चरणमा काठमाडौंका ४ क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए। बाँकी क्यासिनो पनि क्रमशः अनुगमन गरिने विभागले जनाएको छ।
नेपालमा साना र ठूला गरी २० क्यासिनो सञ्चालनमा छन्। साना क्यासिनो सबै सर्वोच्च अदालतको निर्णयको प्रतिक्षामा छन्।
प्रत्येक आर्थिक वर्षमा क्यासिनो नवीकरण गरिन्छ। ठूला क्यासिनोले ४ करोड र साना (मिनी) क्यासिनोले १ करोड रुपैयाँ वार्षिक राजश्व बुझाउनुपर्छ। त्यस्तै, नवीकरण दस्तुरबापत ठूला क्यासिनोले १ करोड र साना क्यासिनाले ५० लाख रुपैयाँ बुझाउनुपर्छ। ठूला क्यासिनोको निवेदन दस्तुर ५ लाख र सानाको २ लाख रुपैयाँ रहेको विभागले जनाएको छ।
विभागको सगरमाथा हिमालपछि सबैभन्दा बढी राजश्व असुल हुने क्षेत्रमध्ये क्यासिनो नै प्रमुख हो। अघिल्लो आर्थिक वर्षमा विभागले १ अर्ब २० करोड रुपैयाँ राजश्व असुल गरेको थियो। क्यासिनोबाट मात्रै ४५ करोड रुपैयाँभन्दा बढी राजश्व जम्मा हुने गरेको छ।
क्यासिनो अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो। सो समितिका सदस्यमा विभागका महानिर्देशक डण्डुराज घिमिरे, विभागकै निर्देशक मीरा आचार्य, होटल तथा घरवास कार्यक्रम ‘होमस्टे’ शाखाका प्रमुख, होटल एसोसिएसन अफ नेपाल (हान)का प्रतिनिधि रहेका छन्।
प्रतिक्रिया दिनुहोस्