लगातारको झरीले काठमाडौँको ट्राफिक व्यवस्थापन जटिल, सडक पनि जलमग्न ! गाडी गुडाउन र पैदल हिँड्न समस्या (फोटोसहित)

काठमाडौँ , असार २७ । अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परि विभिन्न जिल्लामा मानिसहरुले ज्यान गुमाएका खबर आइरहेका छन् भने कतिपय बेपत्ता भएका खबर आएका छन ।

यसैबिच खोलाले पनि बृद्ध तथा विद्यार्थिलाई बगाएको खबर पनि प्राप्त भएको छ ।

बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौँ उपत्यकामा पनि शुक्रबार बिहानैदेखि पानी परिरहेको छ ।

लगातारको झरीका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।

लगातारको वर्षाले सडकमा गाडी चलाउन र पैदल हिँड्न समस्या भएको छ । ठाउँठाउँमा सडकमै भेल बगेको छ भने कतिपय सडक जलमग्न भएका छन् ।

सिंहदरबारको पूर्वी गेटमा पर्खाल भत्केको छ । पर्खाल भत्केपछि सिंहदरबार आसपास, अनामनगर, हनुमानस्थान, थापागाउँ चल्ने गाडीको चाप छ । अहिले पर्खाल हटाउने काम भैरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ललितपुरको पुल्चोकमा पनि गाडी चापमा चलेका छन् । बिहान पुल्चोकमा रुख ढलेपछि जाम बढेको हो । अहिले रुख हटाइसकेको तर कुपण्डोल, हरिहरभवन, जाउलाखेल, लगनखेल चल्ने गाडी चापमा रहेका महाशाखाले जनाएको छ ।

त्यसैगरी कोटेश्वर तीनकुने क्षेत्रमा पानी जमेर समस्या भएको छ । बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थलीसम्म नै गाडीको जाम रहेको छ । त्यस्तै काठमाण्डौको चुच्चेपाटीमा खाल्डाखुल्डीका कारण पानी जमेर सडक अस्तब्यस्त बनेको छ ।

चुच्चेपाटी क्षेत्रमा पनि गाडीको जाम छ । गुर्जुधारा–सतुङ्गल सडकखण्डमा पनि पानी जमेको छ । केही दिनअघि सडकमा ढलान गरेको, तर त्यसैमाथि पानी जमेर गाडी जाम भएको महाशाखाले जनाएको छ । महाशाखाले जाम रहेको क्षेत्रमा सकेसम्म वैकल्पिक व्यवस्था खोज्न पनि आग्रह गरेको छ ।

पानीको निकास राम्रोसँग नभएपछि राजधानीका सडकहरु जलमग्न भएका छन् । सवारी साधन गुडाउन अप्ठ्यारो भएको छ भने पैदल यात्रुहरुलाई पनि सास्ती भएको छ ।

सडकमा पैदलयात्री तथा सवारी साधनहरु कम देखिएका छन्। कतिपय स्थानमा सवारी साधनहरु पानीमा अड्किएका छन्। नदीहरुमा पनि पानीको बहाव बढेको छ।

काभ्रेमा एकै घरका दुईजनाको मृत्यु भएको छ भने भोजपुरमा पनि दुईजनाले ज्यान गुमाएका छन् । विशेष गरी प्रदेश १, २ र ३ मा लगातारको झरीले क्षति र्पुयाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्