वर्षासँगै सुरु भयो विपद: ५ जनाको मृत्यु, ,सप्तकोशी नदीमा पानीको बहाव उच्च, खतराको संकेत
कठमाडौं, असार २७ । अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । लगातार परेको पानीका कारण कोशीमा पानीको सतह खतराको सूचीमा आएको छ ।
अहिले कोशीमा एक लाख ७४ हजार क्युसेक प्रति सेकेण्ड पानी बगरिहेको कोशी ब्यारेज कन्ट्रोलले जनाएको छ । पानीको सतह बढेपछि अहिले कोशी ब्यारेजका २२ ढोका खुल्ला गरिएको छ ।
यस्तै, इटहरी विराटनगर खण्डको दुहवीमा सुनसरी मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा परेको छ । लगातारको वर्षाका कारण बुढीखोलामा आएको बाढीले पुलको सुनसरी पट्टीको भाग कटान गरेपछि पुल जोखिममा परेको हो ।
पुल जोखिममा परेपछि बिहानबाटै एक तर्फमात्रै गाडी चलेका छन् । पुलमा रातो झण्डा गाडेर खतराको संकेत देखाइएको छ ।
यसैगरी सुनसरीको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर जाने बाटो पहिरोका कारण अवरुद्ध भएको छ ।
यसैगरी सुनसरीको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर जाने बाटो पहिरोका कारण अवरुद्ध भएको छ ।
वर्षासँगै विपद सुरु भएको छ । अबिर वर्षा संगै आएको बाढीले अहिले सम्म ५ जनाको मृत्यु भइसकेको छ ।
निरन्तरको बर्षाका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम डुबानमा परेको छ ।
भानुचोक, शिवचोक लगायतका मुख्य चोक जलमग्न भएको छ भने घर–घरसम्म पानी पसेको छ । तीन दिनदेखि लगातार परेको वर्षका कारण जनकपुर चुरोट कारखानाभित्र रहेको मुख्यमन्त्रीको कार्यालय, मुरलीचोकस्थित संघीय प्रहरी कार्यालय डुबानमा परेको छ ।
जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय, बाह्रबिघा मैदान, विमानस्थल, जिल्ला हुलाक कार्यालय, प्रदेश २ को स्वास्थ्य निर्देशनालय पनि डुबानमा परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका कार्यालय अगाडिकै सडकमा पानी जमेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडामा १ देखि २ फिटसम्म पानी जमेको छ ।
प्रदेश प्रहरी प्रवक्ता ज्ञानकुमार महतोले प्रदेश अन्तर्गतका मुख्य नदीहरुको जलस्तर बढेको बताए । कोशी, बलान, कमला, बकैया नदीको जलस्तर बढेको हो ।
बरहथवाका १५० परिवारलाई सारियो
सर्लाहीको बरहथवा नगरपालिका १५ स्थित गाउँ नै डुबानमा परेको छ । गाउँमा जमेको पानीको निकास नहुँदा स्थानीय १ सय ५० परिवारलाई नजिकैको विद्यालयमा सुरक्षित तरिकाले राखिएको छ ।
सप्तरीमा सडक अवरुद्व
सप्तरीको दक्षिणी क्षेत्रका गाउँहरुमा पानी पसे पनि खतराको अवस्था नरहेको प्रहरीले जनाएको छ । खाँडो नदीमा आएको बाढीका कारण राजविराज–कुनौली सडक खण्ड अन्तर्गत तिलाठी–कोइलाडी १ मा बाटो भत्किएको छ । बाटो कटान गरेका कारण सबारी आवागमन पूर्णरुपले ठप्प भएको छ । सप्तरीसहित खाँडोसहित खड्ग, सुन्दरी, बलानसहितका नदीहरुको जलस्तर बढेको छ ।
सिरहाका कार्यालयहरु डुबानमा
निरन्तरको बर्षाले सिरहा जिल्ला पनि प्रभावित भएको छ । सदरमुकाम सिरहासहित गोलबजार र लहान नगरपालिका पनि डुबानमा परेको छ । सिरहा नगरपालिकाका बजार क्षेत्रका साथै सरकारी कार्यालयहरु समेत डुबानमा परेको छ ।
तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।
गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ । अविरल वर्षाका कारण इलाका प्रहरी कार्यालय लहानसमेत जलमग्न भएको छ । कार्यालय परिसरमा करीब तीनरचार फिटसम्म पानी जम्दा पीडितलाई कार्यालयसम्म पुग्न समस्या भइरहेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्