एसएसबीको गोली लागेर शहीद भएका गोविन्द गौतमको शालिक अनावरण

काठमाडौं, असार २६ । कञ्चनपुरको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर शहीद भएका गोविन्द गौतमको शालिक अनावरण गरिएको छ ।

दुई वर्षअघि सीमा रक्षाका क्रममा शहीद भएका गौतमको सम्झनामा पुनर्वासमा निर्माण गरिएको शालिकको बिहीबार अनावरण गरिएको हो ।

शालिक अनावरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले गौतमले देशको सीमा रक्षाका क्रममा ज्यान गुमाएको उल्लेख गर्दै प्रदेश सरकारले शहीदको सधैँ सम्मान गर्ने बताईन् ।

गौतमको सम्झनामा अहिले पार्कको स्थापना मात्र गरे पनि आउँदो आर्थिक वर्षका लागि ३० लाख बजेट विनियोजन गरिएको उनले बताइन ।

उनले गौतमको सम्मानका लागि पनि स्मृति पार्कलाई यस क्षेत्रकै पर्यटकीय क्षेत्रमा रुपमा विकास गरिने बताइन् ।

गौतमको शालिक निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश पूर्वाधार विकास योजनाबाट ८ लाख र पार्क निर्माणका लागि पुनर्वास नगरपालिकाबाट ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

स्मृति पार्क शहीद गौतमको आफ्नै ५ कठ्ठा जमिनमा निर्माण गरिएको छ ।

पुनर्वासको आनन्द बजारमा कल्भर्ट बनाउने क्रममा विवाद हुँदा २०७३ फाल्गुन २६ गते भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतमको ज्यान गएको थियो ।

सीमा रक्षाका लागि शहीद भएका गौतमको सम्मानमा राज्यले स्मृति पार्क निर्माण गरेपछि शहीद परिवार खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्