काँग्रेससहितका दलहरुलाई आयोगले किन पत्र काटे ?

काठमाडौं । निर्वाचन आयोगले कांग्रेससहित ६ दललाई प्रदेशसभाको समानुपातिकतर्फ विजयी घोषणा गर्न पठाएका नाम त्रुटीपूर्ण भएको भन्दै तीन दिनभित्र सूची सच्याएर पठाउन आग्रह गरेको छ ।
आयोगले आज दलहरुलाई पत्र लेख्दै ६ दललाई प्रदेशसभाको समानुपातिकतर्फ विजयी घोषणा गर्न पठाएका नाम त्रुटीपूर्ण भएकोले तीन दिनभित्र सूची सच्याएर पत्र पठाएको हो ।

प्रदेशसभा सदस्यमा सिफारिस भईसकेकाहरुलाई आफ्नो नाम काटिने हो भन्न त्रास पैदा भएको छ । नपरेकाहरुलाई आफु पर्ने होकी भन्ने चासो बढेको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार कांग्रेसको प्रदेश ३, ४, ६ र ७ को नाममा कुनै हेरफेर हुने छैन ।
तर, प्रदेश १, २ र ५ को सिफारिस भने समावेशी समूह र प्राथमिकता क्रम नमिलेको आयोगले जनाएको छ ।
प्रदेश १ मा कांग्रेसले १३ सिट पाएको छ । जसमा बन्द सूचीमा रहेका नामबाट क्रमअनुसार ६ जनजाति, ४ खसआर्य र थारु, दलित र मधेसी १(१ जना पठाउनु पर्ने थियो । र, यसरी पठाएको नाममा अल्पसंख्यक समुदायबाट दुई जना हुनुपर्छ ।

तर, कांग्रेसले पठाएको नाममा समावेशी समूह र प्राथमिकता क्रम मिलेको छैन ।
कांग्रेसले खसआर्यको महिलातर्फ पहिलो नम्बरमा रहेकी शान्ता पौडेललाई छुटाएको छ भने दोस्रो र तेस्रो नम्बरमा रहेका विन्दीया कार्की र सीतादेवी पौडेलको नाम पठाएको छ ।

प्रदेश २ मा कांग्रेसले समानुपातिकतर्फ ११ सिट पाएको छ । जसअनुसार उसले मधेसी ६, दलित २ र जनजाति, थारु र मुस्लिम एकएक जना पठाउनुपर्छ । साथै यसरी पठाएका मध्ये ३ जना अल्पसंख्यक समुदायको हुनु पर्ने थियो ।

तर, कांग्रेसले मुस्लिम २ जना शेष खसीद अली र सलामा खताुनलाई प्रदेशसभा सदस्य बनाउन सिफारिस गरेको छ भने जनजातिबाट कोही परेनन् ।

कांग्रेसले प्रदेश ५ मा १२ सिट पाएको छ । उसले खसआर्य ३, जनजाति, थारु, दलित, मधेसी २(२ र मुस्लिम एक जना पठाउनु पर्ने थियो, जसमा एक जना अल्पसंख्यक हुनुपर्छ ।

कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार ७२ जना प्रदेशसभा सदस्य मध्ये तीन जना मात्र नमिलेको हो । यद्यपि कसको नाम काट्ने र थप्ने भन्ने खुलाएको छैन ।

 

निर्वाचन आयोग स्रोतका अनुसार राप्रपाको प्रदेश ३ को प्रदेशसभा सदस्यको नाम मिलेन । उसले एक सिट पाएको थियो र रिता माझीको नाम पठाएको छ ।

तर, प्राथमिकता क्रम नमिलेको पाइएको छ । उनी जनजाति महिलाको दोस्रो नम्बरमा छिन् ।

यस्तै राजमोले प्रदेश ४ र ५ मा पठाएको नामको प्राथमिकता क्रम मिलेन भने महिला पुरुष पनि मिलेको छैन । राजपाले पठाएका नामहरुमा प्राथमिकता क्रमका साथै महिला पुरुष मिलेको छैन भने संघीय फोरमले प्रदेशसभाका लागि पठाएको नाममा प्राथमिकता क्रम र समावेशी समूह नमिलेको पाइएको छ । यससँगै कसको नाम काटिने हो र कसको थपिने हो भन्ने चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्