मनसुनी गतिविधि बढ्यो , दिनभरजसो पानी पर्ने

काठमाडौँ , असार २५ । काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश क्षेत्रको मौसम बदली तथा वर्षाको अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युन चापीय रेखा नेपाल तिर सरेकाले मनसुनी गतिविधि बढेको हो ।

देशका अधिकांश क्षेत्रको मौसम बुधबार दिनभर जसो सामान्यदेखि पूर्ण बदली हुने मौसमविद मञ्जु बासीले जानकारी दिएकी छन् । अधिकांश क्षेत्रमा मध्यम खालको वर्षा हुने देखिएको छ । विशेषगरी पश्चिमका केही तथा पूर्व र मध्यका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद मञ्जु बासीले बताइन् ।

बर्खे झरी पर्न सुरु भएकाले विशेषगरी रातिको समयमा पानी बेसी पर्ने उनले बताइन् । अबको केही दिन पार्नी लगातार पर्ने सम्भावना छ । रोपाइँ गर्न नपाएका किसानका लागि अब रोपाइँ गर्न मिल्ने गरी पानी पर्ने मौसमविदको भनाई छ ।


लगातार पानी पर्ने भएकाले विशेषगरी नदी किनार, तटीय क्षेत्र, खहरे खोला आसपास र पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । पानी पर्ने क्रम जारी रहने भएकाले अबको केही दिनमा देशका मुख्य नदी क्षेत्रमा पनि सचेत हुनु पर्ने मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्