प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले गर्दैनः मन्त्री बाँस्कोटा

काठमाण्डौ , असार २० । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताएका छन् ।
तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने उनले बताए ।


तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने उनले बताए ।

उनले सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने तर्क गर्दै अपुष्ट समाचारहरुलाई पनि प्रेस स्वतन्त्रताको नाममा सञ्चार जगतले सम्प्रेषण गरिनै रहेको भन्दै व्यंग्य समेत गरे ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्तरगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको उनले स्पष्ट पारे ।
, ‘प्रेस चलेकै छन् एकदम राम्ररी । एकदम राम्रोसँग चलिरहेका छन् । र सबैले आफुलाई लागेको कुरा भए पनि नभए पनि, पुष्टि भए पनि नभए पनि गजबले गरिराख्न पाउनुभएको छ । त्यसैले यो कुरै छैन जस्तो लाग्छ मलाई । एकदम स्वतन्त्र छ ।’ उनले भने ।

संसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उनले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताए । उनले संसद भित्र छलफल नै नगरी संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारबाजी गर्नुको अर्थ नरहेको बताए ।

मन्त्री बास्कोटाले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गरेपछि अहिले दिँदै आएको लोककल्याणकारी विज्ञापन रोकिने बताए ।

उनले भने , ‘लोककल्याणकारी विज्ञापन दिनैपर्छ भन्ने चाहिँ के छ ? अप्ठ्यारो के पर्यो भने विपी कोइरालाको पालामा सुरु भएको । अब झिकिदिउँ भने फेरि अरु थोक नै पर्ला भनेर कायम राखेको । तर समानुपातिक विज्ञापन प्रणाली आएपछि यो रहने छैन । किनभने डबल पर्न जान्छ । डबल गर्न सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्