व्यवस्थापकीय लापरबाहीले ग्यास उद्योगमा आगलागी

काठमाडौं । वीरगन्जको सुपर ग्यास उद्योगमा उद्योग व्यवस्थापनको गम्भीर लापरबाहीले आगलागी भएको तथ्य सार्वजनिक भएको छ । उद्योग व्यवस्थापनले सुरक्षाका न्यूनतम मापदण्ड पनि पूरा नगर्दा दुर्घटना भएको निष्कर्ष सरकारी छानबिन टोलीले निकालेको हो ।

सरकारले उपभोक्ता हित तथा आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा गठित छानबिन समितिले स्थलगत अनुसन्धान गरेर यस्तो निचोड सार्वजनिक गरेको हो ।

पुस ५ गते उद्योगमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको थियो । आगोले जलेर करिब आठ करोड रुपैयाँको क्षति भएको थियो । उद्योगका चारवटा बुलेट, प्लान्ट, दुईवटा ट्रक, सिलिन्डरमा क्षति पुगेको थियो ।
अपरेटरको उपस्थितिबिना नै प्राविधिक ज्ञान नभएका बुलेटका ड्राइभरले ग्यास अनलोड गर्दा दुर्घटना भएको छानबिन समितिका संयोजक दाहालले बताए ।

‘उद्योग व्यवस्थापनको गम्भीर लापरबाहीले सुरक्षा नअपनाउँदा ठूलो दुर्घटना भएको अनुसन्धान टोलीले जनाएको छ । छानबिन टोली स्थलगत अध्ययन गरेर राजधानी फर्किएको छ ।
इन्डियन आयल कर्पोरेसन आइओसी बाट ग्यास लिएर आएको बुलेटबाट ड्राइभरले सुपर ग्यासको प्लान्टमा ग्यास अनलोड गर्दा लिकेज भएर ग्यास फैलिएपछि आगो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्