भोजपुरमा वडा कार्यालय तोडफोड र आगजनी, बजारमा शंकास्पद वस्तु फेला

काठमाडौं, असार १८ । भोजपुरमा वडा कार्यालय तोडफोड र आगजनी भएको छ ।

पश्चिमी टेम्केमैयुङ गाउँपालिका–१, तिम्मामा रहेको वडा कार्यालयमा मंगलबार राति नचिनेका मानिसहरुको समूहले तोडफोड तथा आगजनी गरेका हुन् ।

वडा कार्यालयको ताला फोडेर सो समुहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको बताएको छ ।


नचिनेका मानिसहरुको समूहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्युटर, टेबुल, कुर्सी, प्रिन्टर, इन्टरनेटका सामग्री तथा महत्वपूर्ण कागजातहरु जलाएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।


त्यस वडाको परिसरभित्रै भेटिएको बमजस्तो देखिने शंकास्पद वस्तु भने निष्क्रिय गरिएको प्रहरीले जनाएको छ । समूहले कार्यालयमा रहेको १ थान ल्यापटप पनि साथमा लिएर गएको बताइएको छ ।

घटनापछि त्यस ठाउँमा सुरक्षा स्थिति कडा पारिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । घटनास्थलमा बुधबार बिहानबाटै नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीलाई खटाइएको छ ।

यसैबिच सदरमुकाम नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

भोजपुर सदरमुकामको देउराली सौदाचोकमा बुधबार बिहान एक शंकास्पद वस्तु फेला परेको छ ।

सौदाचोकबाट बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शंकास्पद वस्तु राखिएको वरपरका स्थानीयवासी त्रसित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्