अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष पत्रकार सम्मेलनबाटै प्रहरीद्वारा पक्राउ, बिरोधमा बजार बन्द
काठमाडौं ,असार १८ । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटालाई प्रहरीले बुधबार पत्रकार सम्मेलनबाटै पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी नेतृत्वको टोलीले उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाट अध्यक्ष देवकोटासहित संघका सदस्य विपिन साउँद र व्यवसायी दिनेश विष्टलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनाविरुद्ध गोदावरी नगरपालिकाले सार्वजनिक हितविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
अध्यक्ष देवकोटाले आफूहरुविरुद्ध विनाकसुर सार्वजनिक मुद्धा दर्ता गराइएको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।
गत असार १० गते गोदावरी नगरपालिकाको नगरसभा चलिरहेका बेला आफूहरुलाई बोल्न नदिएको भन्दै अध्यक्ष देवकोटासहित केही व्यापारीले बिरोध जनाएका थिए ।
नगरपालिकाले नगरसभामा अवरोध सिर्जना गरेको भन्दै उद्योग वाणिज्य संघका पदाधिकारीसहित केही व्यापारीविरुद्ध सार्वजनिक मुद्धा दर्ता गराएको थियो ।
यसैबिच पक्राउ गरेको विरोधमा अत्तरियाका व्यापारीले बजार बन्द गरेका छन्। पत्रकार सम्मेलनमा सहभागि अध्यक्ष देवकोटासहित तीनजनालाई प्रहरीले पक्राउ गरेपछि व्यापारीले अत्तरिया बजार बन्द गरेका हुन्।
अत्तरियाका सम्पुर्ण व्यापारी, व्यावसायीहरुका साझा समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा बोल्दा मुद्दा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै अत्तरियाका व्यापारीहरुले स्वच्छिक रुपमा आ(आफ्ना पसलहरु बन्द गरिरहेको अत्तरिया उधोग वाणिज्य संघका महासचिब यज्ञराज जोशीले जानकारी दिए।
उनले भने, ‘ राज्य प्रशासनले व्यापारीमाथि बल प्रयोग र्गयो। हाम्रो माग सरकारले कहिले सुन्ने ? साँझा समस्याको समाधान किन नगरेको भन्दा प्रहरी लगाएर थुन्ने शैलीको घोर विरोध गर्दछौ।’
प्रहरीले भने फाटफुट रुपमा मात्रै बजार बन्द रहेको जनाएको छ। यता, गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदले भने उद्योग बाणिज्य संघका अध्यक्षले नगरसभामा प्रस्तुत गरेको अभद्र व्यवहारलाई रोक्न आग्रह गर्दा उल्टै आफूबिरुद्ध विज्ञप्ति जारी गरेपछि नगरपालिकाले मुद्दा दर्ता गरेको बताए।
उनले घटनालाई सामान्य बनाउन सकारात्मक छलफल र वार्ता गरिने समेत बताएका छन्।
प्रतिक्रिया दिनुहोस्