नेपाल टेलिकमले सुरु गर्यो ‘एनटी सूचनाको संसार’, ६ महिनासम्म शूल्क नलाग्ने

काठमाडौं, असार १५ । नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी गरी ‘एनटी सूचनाको संसार’ सेवा सुरु गरेको छ ।

यो एक प्रकारको कल-इन सिस्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिन्छ।

नेपाल टेलिकमको मोबाइलमार्फत् ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिन्छ।

यसरी कल गर्दा मोबाइल प्रयोगकर्ता नेपाली भाषाको माध्यमबाट सूचनाको संसारमा जोडिन सक्छन्।

यसको माध्यमबाट कृषि, स्वास्थ्य, समाचार, मौसम र विपत् तयारी जस्ता विषयमा आवश्यक जानकारी लिन सकिन्छ।

सार्वजनिक सेवाका लागि आवश्यक जानकारी भियामाले विभिन्न विशेषज्ञहरुको सहयोगमा तयार पारेको हो।

यसमा नेपाल सरकारका विभिन्न मन्त्रालयका साथै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाका विशेषज्ञहरु समेत संलग्न छन्।

विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले यो सेवाबाट कुनै पनि उमेर समूहका साक्षर वा निरक्षर सबै नेपाली लाभान्वित हुने विश्वास गरिएको छ।

निकट भविष्यमा सुशासन र आर्थिक साक्षरतालगायतका थप शीर्षकहरु समेत यसमा समावेश गरिने छ ।

यो सुविधा हाललाई ६ महिनाको लागि निःशुल्क उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस्