जेठ महिनामै भ्रमण शीर्षकमा साढे ५ करोड निकासा, राष्ट्रपतिको चीन भ्रमणमा मात्रै ३ करोड खर्च
काठमाडौं, असार १५ । गत वैशाख ११ गते नेपाल वायु सेवा निगमको जहाज चार्टर गरी राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने चीन भ्रमण गएकी थिइन्।
राष्ट्रपति भन्डारीको भ्रमण टोलीमा सरकारी उच्चपदस्थ कर्मचारीदेखि निजी क्षेत्रका व्यवसायी समेत सहभागी भएका थिए। चीन भ्रमणका क्रममा सो टोलीले गरेको खर्च ३ करोड ९ लाख ५५ हजार रुपैयाँभन्दा बढी भएको खुल्न आएको छ।
राष्ट्रपति भण्डारीको भ्रमणमा भएको खर्च रकम अर्थ मन्त्रालयले जेठ महिनामा निकासी गरेको छ।
यसगरी बैशाख २६ गतेदेखि ७ दिनको भियतनाम र कम्बोडिया भ्रमणमा गएको प्रधानमन्त्रीको टोलीले पनि २ करोड १२ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ।
सो भ्रमण टोलीले गरेको खर्च पनि अर्थ मन्त्रनलयले जेठ महिनामा विभिन्न शीर्षकबाट विभिन्न प्रयोजनका लागि निकासी गरेको रकम शीर्षकमा उल्लेख छ।
यसैगरी जेठ महिनामै राष्ट्रिय सूचना आयोगका आयुक्त कुमार पोखरेल र यशोदादेवीको दक्षिण अफ्रिका भ्रमण शीर्षकमा ८ लाख ५१ हजार ३ सय ५० रुपैयाँ खर्च भएको छ। सो खर्च रकम पनि अर्थ मन्त्रालयले जेठ महिनामै निकासी गरेको छ।
यसैगरी मुख्य सचिव सहित ४ जनाको टोलीले इजिप्ट र इजरायल भ्रमणमा १३ लाख ५६ हजार तथा वन मन्त्रीको दोहा भ्रमणमा ७ लाख ४ हजारभन्दा बढी खर्च गरेका छन्।
अर्थ मन्त्रालयले जेठ महिनामा मात्रै ५ करोड ५१ लाख ५२ हजार ६ सय २७ रुपैयाँ विभिन्न मन्त्रालयको नाममा निकासी गरेको हो।
प्रतिक्रिया दिनुहोस्