स्थानीयमा विप्लव समूहको त्रास : कालिकोटका सबै स्थानीय तहमा प्रहरी परिचालन

काठमाडौं, असार १४ । कालिकोटका सबै स्थानीय तहमा प्रहरी परिचालन गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा सुरक्षा व्यवस्थालाई कडा पार्न प्रहरी परिचालन गरिएको हो ।

गत मंगलबार राती जिल्लाको नरहरीनाथ गाँउपालिकाको कार्यालय विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले जलाएपछि जिल्लाका सबै स्थानीय तहमा प्रहरी परिचालन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटले विप्लव नेतृत्वको नेकपाले जिल्लाका स्थानीय तहलाई लक्षित गरी सार्वजानिक सम्पत्तिमा क्षती र्पुयाउने गतिविधि गर्न थालेपछि त्यसविरुद्ध प्रहरी परिचालन गरिएको जनाएको छ।

नेकपाले यही असार १० गते आह्वान गरेको नेपाल बन्दको दिन कालिकोटका स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याउन गाँउसभा तथा नगरसभाहरु संचालन गरेको भन्दै विप्लव समुहले आक्रामक रुपमा गाँउपालिका जलाउन थालेपछि जिल्ला प्रहरी कार्यालयले हरेक स्थानीय तहमा प्रहरी परिचालन गरेको हो।

जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी बिनोद शर्माले जिल्लाका हरेक स्थानीय तहमा एक जना असइको नेतृत्वमा एक जना हवलदार र ४ जना जवान गरी ६∕६ जनाको टोली २४ सै घण्टा सुराक्षार्थ खटाइएको बताए।

उनले भने, ’नेकपाले स्थानीय तहलाई नै लक्षित गरी आगजानी गर्ने जस्ता अपराधिक गतिविधि सुरु गरेकाले त्यसका विरुद्धमा सबै पालिकाहरुमा प्रहरी परिचालन गरेका छौँ।’

यसैबिच विप्लव नेतृत्वको नेकपाको बढी प्रभाव रहेको कालिकोटका विभिन्न क्षेत्रहरुमा प्रहरीको अप्रेशन सुरु भएको छ।

नेकपाले आफ्नो आधार इलाकाका रुपमा बताउँदै आएको नरहरीनाथ गाँउपालिकाको लालु, माल्कोट, रुप्सा, कोट्बाडा, शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा, पचालझरना गाँउपालिकाको खरकोट, खाद्रु, पलाँता गाँउपालिकाको खीन धौलागोह लक्षित गरी नेपाल प्रहरी र सशष्त्र प्रहरीले सयुक्त रुपमा गस्ती सुरु गरेको हो।

कालिकोटका जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी बिनोद शर्माको नेतृत्वमा जिल्लाको शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा लेक, रास्कोट हुँदै पचालझरनाको लेकाली क्षेत्रतिर र प्रहरी इन्सपेक्टर देवेन्द्रकुमार मल्लको नेतृत्वमा जिल्लाको नरहरीनाथ गाँउपालिका र शान्नित्रिवेणी गाँउपालिकातिर केन्द्रीत गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले गाँउमा विप्लव विरुद्ध अप्रेशन सुरु गरेको छ।

गाँउपालिकातिर केन्द्रीत गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले गाँउमा विप्लव विरुद्ध अप्रेशन सुरु गरेको छ।

यता कालिकोटका ग्रामिण स्तरमा विप्लव समुहका नेता तथा कार्यकर्ताहरुले विभिन्न गतिविधि बढाएको र विप्लव विरुद्ध प्रहरीले गाँउमा अप्रेशन सुरु गरेपछि स्थानीय नागरिकहरु निकै त्रसित भएका छन्।

प्रतिक्रिया दिनुहोस्