निजगढ विमानस्थल निर्माणको ढाँचा टुंगो लगाउन निर्देशन, ढिला भएको भन्दै सरकारप्रति आक्रोश

काठमाडौँ , असार १३ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ विमानस्थलको निर्माण ढाँचा तत्काल टुंग्याउने निर्देशन दिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा २३ वर्षअघि नै बनाउने भनिएको आयोजनाको अझै पनि मोडालिटी तयार नपारेको भन्दै समितिले त्यसलाई तत्काल टुंग्याउन निर्देशन दिएको हो ।

अझै पनि निर्माणको मोडालिटी तयार नभएको जानकारी पाएपछि सांसदहले सरकारप्रति आक्रोश पोखेका छन् ।

समितिको बैठकमा पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट आयोजनाबारे ब्रिफ्रिङ सुनेपछि सांसद जीवन बुढाले ‘त्यहाँ विमानस्थल बनाउनुपर्छ, गर्नुपर्छ भन्नेमा सबैको एकमत छ, बजेट छ, ठाँउ छ तर पनि काम किन अघि बढन सकेको छैन?’ भनी प्रश्न गरे ।

उनले भने ‘२३ वर्ष बितिसक्दासमेत आयोजनाको मोडालिटी किन बन्न सकेन, आयोजनालाई रोक्न जङ्गल, जनावर र पानीको हिसाब गरेर एक थरी बसेका छन्, छलफलमा २३ वर्ष बित्यो, अरुका भए यति खेर प्लेन चढी सक्थे, अरु मुलुकको वातावरणको कुरा जोडेर आयोजना रोक्ने काम भएको छ, यसलाई चिरेर अघि बढनुपर्छ ।’

समितिका सदस्य रामचन्द्र राईले हालसम्मको निर्माण प्रगतिलाई विश्लेषण गर्दा निजगढ विमानस्थको कुरा दन्ते कथा जस्तो देखिएको बताए ।

उनले भने, ‘हामी आएको डेढ वर्ष भइसक्यो आयोजनाको प्रगति जहाँको त्यही छ, निर्माण गर्नुपर्छ भनेर भाका मात्र मिलाउने होइन, अब जाँगर र अठोटका साथ काम हुनुप¥यो ।’

सांसद रामप्रीत पासवानले भने, ‘समितिले दिएको निर्देशन कार्यान्वन खै? अहिलेसम्म आयोजना निर्माणको मोडालिटीको निर्णय नहुनुमा कसको दोष छ ?’ सांसद खीमलाल भट्टराईले राजनीतिक रुपमा एउटै मन भएको नेपालको ड्रिम प्रोजेक्टलाई अब द्रूतगति प्रदान गर्न यस विषयमा फैलाइएको अफवाहलाई चिरेर अघि बढनुपर्ने उल्लेख गरे ।

सांसद सुरेन्द्र पाण्डेले भने, ‘डेढ वर्षअघि बैठकमा आयोजनाको जे प्रगति प्रतिवेदन दिइएको थियो, अहिलेसम्म आइपुग्दा जहाँको त्यहीँ छ, प्रगति शून्य छ, कुन मोडलमा अघि बढने भन्ने गन्तव्य अझै सुनिश्चित छैन, डीपीआर, मोडालीटी र रुख कटाउने विषयमा कुनै प्रगति भएको छैन ।’

पूर्वसचिव वीरेन्द्रबहादुर देउजाले सन् १९९७ मा त्रिभुनव विमानस्थलको विकल्पका रुपमा अघि बढाउनुपर्छ भनेर यकिन भएको आयोजनालाई अघि बढाउन सरकारले छिटोभन्दा छिटो मोडालिटीबारे निर्णयमा पुग्न आवश्यक रहेको बताए ।

भैरहवा र पोखरा विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्प हुनै नसक्ने जिकिर गर्दै उनले भने, ‘टाइम इज मनी, यो आयोजना र काठमाडौँ तराई मधेश जोड्ने द्रुतमार्ग निर्माण नभएसम्म मुलुक नयाँ युगमा प्रवेश गर्नै सक्दैन ।’

नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आयोजनाका लागि आवश्यक १११ विघामध्ये ६५ विघा जग्गा अधिग्रहण तथा वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेको हुँदा अब रुख कटान गर्न समितिबाट निर्देशन आवश्यक रहेको उल्लेख गरे ।

आयोजनाका लागि १० लाख रुख काट्नुपर्ने र सोबापत करोड ५० लाखको संकायमा वृक्षरोपण गर्न स्थान अभाव हुने कुरासमेत चर्चामा रहँदै आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले आयोजना कुन मोडलमा सञ्चालन गर्ने भन्नेबारेमा छलफल भइसकेको जानकारी दिए । ।

विसं २०७३ मा तयार गरिएको आयोजना प्रतिवेदनले उक्त आयोजनाको लागत रु एक खर्ब २० अर्ब लाग्ने प्रारम्भिक अनुमान गरेको थियो ।

सांदहरुले अब भने निमार्णमा ढिलाई गर्न नहुने बताएका छन् । उनीहरुले बजेट र ठाउँ भएर पनि काम अगाडी बढ्न नसकेको भन्दै आक्रोस पनि पोखे । यसमा अब सरकारले ध्यानदिन र कामलाई अगाडी बढाउन सुझाव पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्