महावाणिज्यदूतहरुलाई आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदूतहरुलाई नेपालको आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले काठमाडौँमा भेला भएका विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदूतहरुलाई बिहीबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा सामूहिक भेट गरी यस्तो निर्देशन दिएका हुन् ।

भेटमा उनले सरकारले उच्च प्राथमिकतामा राखेको नेपालको आर्थिक विकासका लागि पूँजी र प्रविधि भित्र्याउने गरी प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह समेत गरे ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकताको सेवा र सुरक्षाको उचित व्यवस्था गर्न पनि महावाणिज्यदुतहरुलाई सचेत गराए ।

त्यसैगरी उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउने गरी विदेशस्थित महावाणिज्य दूतहरुलाई गतिविधि अघि बढाउन पनि आग्रह गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदूतहरुको दुई दिने सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो ।

सोही सम्मेलनमा भाग लिन आएका अवैतनिक महावाणिज्यदूतहरुले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्रीले अवैतनिक महावाणिज्यदूतले निर्वाह गर्दै आएको भूमिकाको पनि प्रशंशा गरेका थिए ।

सम्मेलनमा मूलतः नेपालको आर्थिक विकासका लागि आवश्यक पूँजी र प्रविधि भित्रयाउने विषयमा विस्तृत छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालले हाल १६६ वटा मुलुकमा कूटनीतिक सम्बन्ध कायम राखेको छ । त्यसमध्ये ३२ वटा मुलुकमा मात्रै नेपालले राजदुतावासको व्यवस्था गरेको छ भने अन्य मुलुकहरुमा अवैतनिक महावाणिज्यदुतहरुको व्यवस्था गरेको छ ।

ती महावाणिज्य दूतहरुको भूमिकालाई प्रभावकारी बनाउन पनि नेपालमा सो सम्मेलन आयाजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्