दैलेखमा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोली आइपुग्यो

१२ असार, काठमाडौं । दैलेखमा पेट्रोलियम अनवेषणको कार्य शुक्रबारबाट हुने भएको छ ।यसकालागि चिनियाँको एक प्राविधिक टोली नेपाल आइसकेको छ ।

चीनले नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गर्ने भएको हो । कार्य सुरु गर्नका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक नेपाल आइसकेका छन् ।

खानी तथा भूगर्भ विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोलीले शुक्रबारै दैलेख पुगेर पेट्रोलियम अन्वेषण सुरु गर्ने भएको छ ।

तीनवटा फरक(फरक टोली बनाएर विभिन्न स्थानमा अन्वेषणको काम थालिने खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले बताए ।

चीनको बिज्ञ टोलीले पहिलो चरण (१० महिना) मा तानसेन तथा दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रेलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने छ ।

योजनाअनुसार दोश्रो चरण (११ देखि २८ महिना) मा दैलेख क्षेत्रमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ । तेश्रो चरणमा (२९ देखि ३६ महिना) मा नेपालमा समग्र पेट्रोलियम भौगर्भिक अवस्थावारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने विभागमा महानिर्देशक सापकोटाले बताए ।


साथै उनले यो तीन वर्षमा हामी तोकिएको क्षेत्रहरुमा पेट्रोलियम खानीको अन्वेषण गरेर व्यवसायिक उत्पादनको सम्भाव्यता छ या छैन भन्ने टुंगो लगाउने बताए ।

निकै जटिल भए पनि तोकिएको अवधिमा काम सक्न आफुहरु प्रतिवद्ध रहको उनले बताए ।

तीन वर्षमा पूरा हुने अपेक्षा गरिएको अन्वेषणमा लाग्ने सबै खर्च चिनियाँ पक्षले नै व्यहोर्ने भएको छ ।

खर्च कति लाग्छ भन्ने अहिल्यै आकलन गर्न नसकिने खानी तथा भूगर्भ विभागका महानिर्देशक सापकोटाले बताए ।


नेपाल(चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’का लागि गत फेब्रुअरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच सम्झौता भएको थियो । यो सम्झौता अवधि तीन वर्षको छ ।

प्रतिक्रिया दिनुहोस्