राष्ट्रिय मानव अधिकार आयोगले भन्यो- देशमा दण्डहीनता झनै बढेर गयो

काठमाण्डौ , असार १० । राष्ट्रिय मानव अधिकार आयोगले देशमा दण्डहीनता झनै बढेर गएको निष्कर्ष निकालेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले ‘इन्काउन्टर’को नाममा मारिएको भनेबाट मुलुकमा झनै दण्डहिनता बढेर गएको निष्कर्षमा पुगिएको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बताएका हुन् ।

सोमबार ललितपुरस्थित आयोगको कार्यालयमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रहरीले यो घटनाको अनुसन्धानलाई नै प्रभावित पार्ने गरी इन्काउन्टरमा मारिएको भनेकोमा पनि आपत्ति जनाए ।

अध्यक्ष शर्माले सरकारले ल्याएको मानव अधिकार आयोग ऐनसम्बन्धी विधेयक र प्रेस स्वतन्त्रता विरोधी विधेयक मानव अधिकारको ठाडो उल्लंघन हुनेगरी आएको पनि स्पष्ट पारे ।

अध्यक्ष शर्माले मानव अधिकार आयोग ऐन संशोधन गर्न बनेको विधेयक मानव अधिकार आयोगलाई नियन्त्रण गर्ने गरी आएको दाबी गर्दै मान्य नहुने पनि स्पष्ट पारे ।

पछिल्लो समय देशमा दण्डहीनता झनै बढेर गएको छ । विभिन्न ठाउँमा हत्या, हिंसा तथा बलात्कार जस्ता घटना बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्