सोमबार शेयर बजारमा सामान्य सुधार, १२६०.१० अंकमा नेप्से

काठमाडौं, ९ असार । अन्य दिनभन्दा सोमबार शेयर बजारमा सामान्य सुधार भएको छ । पछिल्लो कारोबार दिनहरूमा सुस्ताएको शेयर बजारमा सोमबार ५.७५ अङ्कको उकालो लागेको हो ।

बजारले सामान्य उतारचढावकाबीच झिनो अङ्कको वृद्धि कायम गर्दा लगानीकर्ताले केहि आसावादी भएको छन् । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १२६०.१० अंकमा उक्लिएको छ ।

कारोबारको सुरुमै सामान्य अङ्कले बढेको बजार १० मिनेट पछि भने तल भएको थियो । भने बन्द हुन केहि समय बाँकी रहंदा सूधारोन्मुख भई सवा एक घण्टामा बजारले लिएको सुधारले सूचक बढेर बन्द भएको हो ।

सोमबारको कारोबारमा लघुबित्तका शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बढ्ने कम्पनीहरूको सूचीका लघुबित्त कम्पनीहरू धेरै छन् ।

सोमबार सबैभन्दाबढी शेयर मूल्य बढेको १० कम्पनीको सूचीमा आठ कम्पनी लघुबित्तका रहेको नैसेले जनाएको छ । फाइनान्स र जलविद्युत कम्पनीहरूमा लगानीकर्ताले रुची नदेखाउँदा उनीहरू घट्दो सूचीमा धेरै छन्।

लगानीकर्ताहरुले बजेटपछि शेयर बजारमा ठूलै परिवर्तन आउने अपेक्षा गरेता पनि त्यस अनुरूप बजार नबढेपछि उनीहरू लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् ।
सोमबार १७३ कम्पनीका १५ लाख चार हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भयो। ४८ करोड १४ लाख रुपैयाँको कारोबारमा शिवम् सिमेन्टको कारोबार सबैभन्दा बढी भयो । शिवम्को पाँच करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । चिलिमे हाइड्रो पावरको कम्पनीले दुई करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

उपसूचक मिश्रित देखिएका छन् । ११ समूहको कारोबारमा सात समूहका उपसूचक बढेका छन् भने चार समूहको उपसूचक घटेको छ। सबैभन्दाबढी होटेल समूहमा १.२९ प्रतिशतको बृ्द्धि देखिएको छ भने सामूहिक लगानीकोषको उपसूचक ०.२८ अङ्कले घटेको छ ।

सोमबार जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्थाका शेयरधनीले करिब १० प्रतिशत कमाए भने गुमाउने कम्पनीको सूचीमा मल्टिप्रपोज फाइनान्स अग्र स्थानमा छ । उसका शेयरधनीले ९.६० प्रतिशत गुमाएका छन् ।
कारोबारलाई हेर्दा पूँजीबजारले सहि गति लिन सकेको छैन । बेढ्ने र घट्ने सामान्य आँकल गर्न समेत नसक्ने हुँदा यसले सहि गति लिन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्