लोकसेवा विज्ञापनविरुद्धको सुनुवाई आज पनि सकिएन, अब बुधबार हुने
काठमाडौं , असार ८। लोकसेवा आयोगको विज्ञापनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुने भएको छ ।
लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रीटमाथिको सुनुवाई आज नसकिएपछि बुधबारका लागि सरेको हो ।
आइतबार दिनभर बहस भए पनि रीट निवेदककै तर्फको बहस नसकिएकाले बुधबारका लागि सारिएको हो । आइतबार रीट निवेदकका तर्फकै बहस पनि सकिएको छैन ।
लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रीट परेको छ । आइतबार सबै रीटलाई एकै ठाउँमा राखेर न्यायाधीशहरु हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको छ ।
उक्त रीटमाथि सरकारी वकिलको बहस र लोकसेवा आयोगको तर्फबाट जवाफ बाँकी नै रहेको छ ।
यता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन संविधान तथा प्रचलित कानून बमोजिम भएको बताएका छन् ।
आयोगले गएको जेठ १५ गते देशभरका ५ सय १५ स्थानीय तहका लागि ९ हजार, १ सय ६१ सिटका लागि विज्ञापन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्